कविताः दुई सय वर्षको शोक !

प्रकाशित मिति :  52 पटक हेरिएको

लडेर पनि योध्दाले जस्तै
वम– वारुधको कुहिरीमण्डल मैदानमा
योध्दा बन्न नपाएको
लाहुरेहरूको जुनी !
मरेर पनि सहिदले जस्तै रगत बगाएर
हजारौं पुर्खाहरूको
त्यो सहिद बन्न नपाएको
पराई भूमिको मरण !

प्रियसीले
अँगालो हालेर रुन नपाएको
त्यो गोलीले क्षतविक्षत बहादुरको लास !
सन्तानहरूले
फूल चढाउँन नपाएका
र कहिलै देख्न नपाएका
धराको कुनै कन्दरा
कुनै दलदल
या कुनै भीर पहराका अज्ञात चिहानहरू !
त्यो जति जिते पनि अर्कैले जित्ने
र हारे पनि अर्कैले हार्ने लडाइँ !

त्यो जितेर पनि हारिने
हारे त झनै हारिने
पराधिन जिन्दगीको व्यथा
त्यो दुई सय वर्ष पुरानो कथा !
त्यो बहादुरी थियो या विवशता ?
त्यो सहादत थियो या स्याल मराई ?
त्यो त्याग थियो या तनखा प्रेम
त्यो बचाऊ गरिरहेको सीमाना
आफ्नो थियो कि पराईको ?
त्यो गोली ताकिएको मान्छे
दुस्मन थियो कि साख्खै भाइ ?
लड्दा लड्दै सोच्न नभ्याएको
मर्दा मर्दै सोध्न नभ्याएको
त्यो तिम्रो रगतले भिजेको माटोमा
स्वाधिनता उम्रियो कि बनमारा ?
दुई सय वर्ष पछि पनि
सोधी रहेछन् नाती नातिनीहरू
आफ्ना पुर्खाहरूलाई
मर्नु अगाडि उनीहरूका आँखामा
वीरता थियो कि अवसादको वादल ?
कसैले त फेरि लेख कविता

र भनिदेऊ –
ती वीर थिए कि वुध्दु ?
ती त्यागी थिए या तोर्पे ?
ती गोर्खाली थिए या
गोर्खालीबाट अधिनस्थ सरहदका
राज्य गुमाएका अनागरिक थिए ?
कसैले त भनिदेऊ
ती छात्तीमा भिरेका परमवीर चक्र
इज्जत बढाउँने तक्मा थिए
या आफू जस्तै पराधिनहरूका खप्पर ?
लाहुरे बालाई सोधिदेऊ
सपनामा अचेल के देख्छन् उनी ?
– लासहरूको थुप्रो
– खरानी बनेका बस्ती
–कुपोषण ग्रस्त नानीहरू
–चिच्याइरहेका विधवाहरू
या आफ्नो कहाली लाग्दो अतित ?
ठीक दुई सय वर्षपछि
ज्ञात अज्ञात पूर्खाहरूलाई संझदै
सोच्दै छन्

एक्काइसौं सताव्दिका तन्नेरीहरू
जति रगत बगाए हाम्रा पूर्खाले
जति खुकुरी घुमाए
जति मान्छेहरू छप्काए
जति बहादुरी देखाए
त्यो सब झोक पोखेको भए
आफ्नो माटो र मान्छेको लागि
यो धरतीको मानचित्रमा
एउटा गज्जवको देश
हाम्रो पनि हुने थियो पक्कै !
सिङ्गै दुई सय वर्षको कथा
क्या वात थियो कि कठैवरी ?
लाहुरे बाको नजिकै बसेर
सोचिरहेछ उनको नाती !
श्रध्दाका फूलहरू चढाइरहँदा
ज्ञात अज्ञात पूर्खाका संझनामा
एउटै प्रश्नले ऐंठन गरिरहन्छ
कस्को लागि
कसको आदेशमा
के उद्देश्यले

कसका विरुध्द लडेका थिए उनीहरू ?
कतैबाट आकासवाणी भएझैं लाग्छ
मधुरो स्वरमा यस्तो सुनिन्छ –
“हामी त केवल लड्यौं मात्रै !
के, कसरी र किन भनेर सोचेको भए
या सोच्ने सुविधा पाएको भए
हामी कोही पनि लड्ने थिएनौं !“
बलराम तिमल्सिना

तपाईको प्रतिक्रिया