कविता- म्याम सापको चिया चुस्की

प्रकाशित मिति :  101 पटक हेरिएको

धेरैँ समय पछि
म्याम सापलाई चिया पिउने अवसर मिल्यो
महाराजका हातबाट बनेको

पहिलो चुस्कीमा
नुनिलो स्वाद आयो
किनकी
त्यहाँ गरीबहरुका आँसु मिसिएका थिए

दोस्रो चुस्कीमा
भरियाको पसिना र सुत्केरीहरुको गन्ध आयो
किनकी
त्यहाँ जनताले तिरेको कर मिसिएको थियो

तेस्रो चुस्कीमा
कुनै ईन्धनको धुवा जस्तो गन्ध आयो
किनकी
त्यहाँ कालाबजारीहरुको कमिशन मिसिएको थियो

चौथो चुस्कीमा
आफ्नै छोरीको र्याल जस्तो स्वाद आयो
किनकी
त्यहाँ बलात्कृत बालिकाको चीत्कार मिसिएको थियो

पाँचौ चुस्कीमा
काँचो खुनको राग आयो
किनकी
त्यहाँ जनयुद्धको रगत मिसिएको थियो

अन्तिम चुस्कीमा
एक्कासी माटोको गन्ध आयो

म्याम साप बेस्सरी रुन थाल्नु भो
महाराज देश नै खाएपछि हामी अब कहाँ जानू।
– प्रज्वल पुकार

तपाईको प्रतिक्रिया