कविता: किन ? किन ?

प्रकाशित मिति :  56 पटक हेरिएको

राणाशाहीमा पनि निमुखै आहत हुने
तानाशाहीमा पनि निमुखै आहत हुने
जनशाही ल्याउन पनि
निमुखैको शहादत चाहिने
स्थापित जनशाही पनि तानैशाही बनेपछि
निमुखै आहत हुने
विराटासनमा बसिसकेपछि
जसले पनि क्रुरै बन्नु पर्ने ?
किन ? किन ?
जहिल्यै र जहाँ पनि निमुखाकै भागमा
राहत होइन आहतैआहत पर्नुपर्ने !
किन ? किन ?

भूँइचालो भनौँ कि बाढी पहिरो
हैजै होस कि अनिकाल
अथवा अहिलेको कोरोनैको महामारीमै पनि
निमुखैमात्र आहत हुनुपर्ने
मानिसशाही वा प्रकृतिशाही
दुवैको मार जहिल्यै पनि
केवल र केवल निमुखैले धान्नु पर्ने !
किन ? किन ?

© इन्दिरा प्रसाई

तपाईको प्रतिक्रिया