कविता: लाजको तस्बिर

प्रकाशित मिति :  25 पटक हेरिएको

त्यस दिनको सुनसान अँधेरी रात
मेरो शिरमा हात राखेर कसम खाँदै
कोरेका थियौ तिमीले
मेरा लाजका तस्बिरहरु

सम्झन्छु अहिले आँखा चिम्लिएर त्यो तस्बिर
त्यो दिन पनि
मैले आँखा उघार्दा बनाईसकेका रहेछौ सिङ्गो आकृति

तस्बिर त्यस्तो छ मानौ
लास भेट्नु अगाडिको सुईसाइड नोट जस्तो
मृतकको प्रतिक्षामा बसेको शवबाहन जस्तो
वेश्यालय भित्र पुजिने सानो देवीको मन्दिर जस्तो
बृद्धाश्रमकी आमाले पोल्टामा लुकाएर राखेको छोराको फोटो जस्तो
अथवा मसानघाटमा जलेर बाँकी रहेको एक चोक्टो अस्तु जस्तो

यसमा आफ्नै सास भर्दिएका छौ तिमीले
आफ्नै रगत भर्दिएका छौ तिमीले
वा मेरो मृत्युको रङ्ग पनि भर्दिएको हुन सक्छ

हुन त स्वीकार्छौ या स्वीकार्दैनौ
मैले नै बनाएको त्यो तस्वीर भनेर

अब कसरी खवर पठाउ मैले तिमीलाई
तिमीले बनाएको तस्बिर
मैले मेरो पेट भित्र लुकाएर राखिदिएको
आज ठ्याक्कै सात महिना भएको छ ।

© प्रज्वल पुकार

तपाईको प्रतिक्रिया