कविता: म बाँदर !

प्रकाशित मिति :  42 पटक हेरिएको

म बाँदर
तिमी मान्छे !

म तिमीले वदनाम गरेको बाँदर
म घर पनि नबनाउने
बनाएको पनि भत्काइदिने जन्तु !

म यसो सोच्छु-
तिमीले घर बनाएर के नाप्यौ ?
तिमी घरमा बस्न थालेर कति सप्रियौ ?
म त देखिरहेछु
घरमा बस्न थालेपछि
तिमी झन् स्वार्थी बनेका छौ
तिमी झन जङ्गली बनेका छौ
तिमी प्रकृतिका दुश्मन बनेका छौ !

यो धरतीका असंख्य रुखहरू
भन कुनै बाँदरले ढाल्यो ?
वाँदरले कुनै जङ्गल उजाड बनायो ?
हामीले तरुल खोज्दा खोस्रिएर धरती
भन कहीं पहिरो गयो ?
हाम्रो चकचकले
भन कुनै पानीको मूल सुक्यो ?
हाम्रो उपद्रोले गर्दा
कुनै फूलहरू फुल्न छोडे ?
वसन्त आउन रोकियो ?
वृक्षहरूले फल दिन बन्द गरे ?

यी हिमालहरू पग्लिएको
हिमतालहरू फुटेको
जमीनमुनीको पानीको सतह
घट्दै गट्दै तल झरेको
ओजोनको तह पातलिएको
र सूर्यका खतनाक किरण छिरेर
हामी सबैलाई मृत्युको मुखमा धकेलेको
के यो हामी वाँदरले गर्दा हो ?

हो म चकचके बाँदर
र,तिमी भद्र मान्छे
तिमीले मान्छे बनेर के नाप्यौ ?

हामी तिमीभन्दा बढी शान्त छौँ
हामी तिमीभन्दा बढी उदार छौँ
तिमी भन्छौ-
बाँदरहरूले घर पसेर हैरान पारे
हाम्रो प्रतिवाद छ –
होइन ,
हामी तिम्रो घर पसेको होइन
तिमीले हाम्रो वासस्थान खोस्यौ
र हाम्रो वासस्थानमा घर बनायौ
हाम्रो शान्ति बिथोल्यौ
हाम्रा खानाहरू खोस्यौ
हामी त
हाम्रो पुरानो बासस्थानको यादमा
पटक पटक आइरहन्छौं
आज हामीले जे गरिरहेछौं
यो त खबरदारी मात्र हो मान्छे !

म पुच्छर भएको मान्छे
तिमी पुच्छर हराएको वाँदर
हामी बाँदरहरू सोच्छौं-
एति स्वार्थी
एति कपटी
एति हिंस्रक
एति विध्वंशक
तथाकथित मान्छे हुनुभन्दा
हामी बाँदर नै रहिरहन पाऊँ !

हो म चकचके बाँदर
र तिमी सालिन मान्छे
तिम्रो सालिनताले के नाप्यो ?

© बलराम तिमल्सिना
भक्तपुर

तपाईको प्रतिक्रिया