कविता: जनसंख्या

प्रकाशित मिति :  649 पटक हेरिएको

सरकारले खटाएका
प्रत्येक ठाउँमा पुगेँ
प्रत्येक सहर,
प्रत्येक गाउँमा पुगेँ

अंकहरु बटुलेँ !

आधा थिए वृद्धहरुका शरीर
तर पूरै लेखिदिएँ !
नाङगा थिए बालबालिकाहरूका हर
तर सिङ्गै लेखिदिएँ !

अपाङ्गहरुका
आँखा हेरिन , कान खोजिन
खुट्टा र हात कता राखेका छौँ
केही पनि सोधिनँ, सग्लै लेखिदिएँ !

आधा मरेका बलात्कृतहरु
गोडा मुनि परेका शोषित उत्पीडितहरु
समाजको ऐनामा कैलै नदेखिएका अनुहारहरु
देशको नक्शामा कैलै नभेटिएका पदचापहरु
सबलाई खोजेँ , भेट्टाएँ

योगफल निकालेँ !!

मेरो देशले जनसंख्या पायो
मैले मेडल पाएँ, प्रमाणपत्र पाएँ
लेखिएको थियो-
उत्कृष्ट कार्यसम्पादन तथा
मूल्यांकनको आधारमा प्रदान गरिएको..!

सम्मानको बोझले थिचिएर हो
वा
कुनै विस्मृत दुर्घटनाले किचिएर
पाइलाहरु गह्रौँ भइरहे बाटोभरी !

घर आएर घोत्लिइरहेँ
कहाँ बिग्रियो हिसाब ?
किन आयो जनसंख्या कम ?

मधुरो आवाजमा जहान बोलिन
ए हजुर,
ती फालेका चार छोरीहरुलाई
जोड्न छुटाउनुभयो कि …..?!

© हेमन्त गिरी
जापान

तपाईको प्रतिक्रिया