कविता: मुखियाको ‌उद्घाेष

प्रकाशित मिति :  360 पटक हेरिएको

सरकार !
वर्षौँ वर्षदेखि
यही अनकण्टार जङ्गलमा
डुल्दै घुम्दै फिर्दै थातबास सार्दै
जङ्गली जनावरहरु मार्दै

त्यसैलाई आफ्नो भोजन बनाउँदै
अजङ्गका रुखहरु राँबोले खोपेर
बन्चरो बसिलाले ताछेर
काठका सामानहरु बनाउँदै
बिताएँ कयौँ हिउँद वर्षाहरु
बिताएँ कयौँ वसन्त र शिशिरहरु
चलाएँ कयौँ सिकारी भाला र तीरहरु
तर कहिल्यै हट्न सकेन
हाम्रा वेदना र पीरहरु

यही गादो र लगौटीमा पोको पारेर
कंगारुले झैँ हुर्काएँ मेरा बचेराहरु
चराउँदै हिँडे यही पाखा पखेराहरुमा
बिरामी पर्दा लगाएँ
जङ्गलका जडिबुटी ओखतीहरु
रमाएँ यही सानो जङ्गलको संसारमा
चलाउँदै आएँ कविलाई समाज

तर समयको अन्तरालमा
मेरो कविलाई समाजभित्र
मेरो सानो संसारभित्र
भाइरसरुपी व्यभिचार भित्रीएर
विकृतिको नग्न आकृतिहरु भित्रीएर
लुटिए हाम्रा चेलीका ईज्जतहरु
झन बनाए हामीलाई सर्वाङ्ग नाङ्गो
तहसनहस बनाउन खोजे
हाम्रो सानो संसार

सरकार !
हामीले चाहेको
सिंहदरबार होइन जङ्गलको राज्य हो
हामीले तिम्रो सामु
यही माग राख्यौँ बारम्बार
बेइमानी र बेईज्जत होइन
ईज्जतको सुरक्षाको सम्प्रभुताको
अस्तित्वको माग राख्यौँ

तर,
हाम्रो सानो संसारलाई
हाम्रो कविलाई समाजलाई
हाम्रो अस्तित्व र पहिचानलाई
तिमिले सुरक्षा दिन सकेनौ भने
यही शिकार मार्ने भाला र तीरहरु
काठ ताछ्ने बसिला र बन्चराहरु
हात हातमा उठाएर
हामी पनि विद्रोह बोल्नेछौँ

© डम्बर थामी ‘अनुपम’

तपाईको प्रतिक्रिया