र, यसरी कमरेडहरू राजा भए !

प्रकाशित मिति :  220 पटक हेरिएको

सुनको दरबारमा बस्ने
राजतन्त्र त ढलेकै हो खसोखास
तर मनको दरबारबाट
धेरैका राजतन्त्र ढलेकै रहेनछन् कि कसो
बरु अझ शक्तिसाली पो बनेछन् क्यार ।

इतिहासको
एउटा महा-अश्लिल मजाक थियो त्यो
राजाको अभिनय गर्ने पालो
यस पटक
कमरेडहरूको आएको थियो
थोकमा बनेका थिए कमरेडहरू राजा
कमरेडका छोराछोरीहरू
युवराज- युवराज्ञी
र कमरेडका कार्यकर्ताहरू
हुक्के- चिलिमे- सुसारे आदि आदि !

उहिलैको कुरा हो
तीसका कमरेडहरू पचास देखिन्थे
पचासका कमरेडहरू सत्तरी देखिन्थे
कमरेडहरूका अनुहारहरू
हुरीले खर उडाएर
डाँडा-भाटा मात्र रहेका छानाजस्ता देखिन्थे
तै पनि कमरेडहरू
हदभन्दा बढी सुन्दर देखिन्थे ।

अहिले परिस्थिति वदलिएको छ
पचासका कमरेडहरू तीस
र सत्तरीका पचास देखिन्छन
जानकारहरू भन्छन्-
खानपीन र ऐस आराम
दरबारिया सुरु गरेपछि
कमरेडहरूको उमेर स्वाट्टै घटेको हो ।

हिजो आज
कमरेडहरू पनि
भात खाँदैनन्
भूजा ज्युनार गर्छन
सुत्नुको सट्टा सुकला हुन्छन
हिड्नुको सट्टा सबारी हुन्छन्
कमरेडहरू पनि
आइसिन्छन्
खाइसिन्छन्
गैसिन्छन्
बोलिसिन्छन् !

हिजोका राजा
र आजका राजामा थोरै मात्र फरक छ
हिजोका राजा श्रीपेच लगाउँथे
आजका राज टोपी लगाउँछन्
हिजोका राजालाई मौसुफ भनिन्थ्यो
आजका राजालाई कमरेड भनिन्छ !

कमरेडको आदर्शबाट यिनीहरू
तल तल अझै तल झर्दै गए
राजाले जे जे गर्थे हिजो
यिनीहरूले पनि त्यही त्यही गर्दै गए
यसरी कमरेडहरू राजा भए !

© बलराम तिमल्सिना
भक्तपुर

तपाईको प्रतिक्रिया