कविता: मेलम्चीबाट

प्रकाशित मिति :  349 पटक हेरिएको

काला बादलका पहाडहरू
टाउकोमाथि उचालेर
गजधम्म परेर बसिरहेको
सेर्माथानलाई सोध्न मन लागेको छ
मनभित्रैबाट कौतुहलता जागेको छ
किन यति धेरै
महिषासुर/सुर/असुर झैँ रिसाएर
उपद्रो मच्चाएर
ताण्डव नृत्य देखाएर
बगायौ खेतका गह्रा गर्खाहरु
र बगायौ चौपाया अनि थुप्रै प्राणीहरु
र मानिसका जिन्दगीहरु पनि

प्रकृतिको अनुपम सौन्दर्य बोकेको
जुगलको सम्मुखमा रहेको
हेलम्बुलाई सोध्न मन लागेको छ
किन दोहिरिन्छन बिपत्तिहरु
सधै शान्त भएर
निर्मल-निश्चल भएर
कलकल बगिरहने
याङ्ग्री र लार्केहरू
बौलाहा कालीको उत्ताल छाल झैँ भएर
बगायौ तिम्बु, चनौटे, ग्याल्थुम
बगायौ तालामाराङ र तिपेनीहरु
बगायौ ढाँडखोला, नाकोटे र मेलम्चीहरु
बगायौ थुप्रै मानव बस्तीहरु
बनायौ खण्डहर-खण्डहर उजाड
दोहोर्‍यायौ जुरे, लिदी, नागपूजे
जम्बु र भोटेकोसीहरु

हे ! ईन्द्रावती ?
आज महसुस भएको छ
म अज्ञानी भएर
तिम्रो धारलाई तर्काउन खोजेँ
तिम्रो बहावलाई फर्काउन खोजेँ
तिम्रो फैलावटलाई सँघुर्‍याउन खोजेँ
तिम्रो सौन्दर्यतालाई कोपर्न खोजेँ
तिम्रो काखमा अनावश्यक बोझ
थोपर्न खोजेँ
तिम्रो किनारामा बस्ती बसाल्न खोजेँ
त्यसैले,
यो जुगलको काखमा रहेको
रोक्न सकेन शक्तिशाली सिन्दुको बिन्दुले
रोक्न सकेन पाल्चोकी भगवतीले पनि
त्यही भएर त
अकल्पनीय दु:खद् क्षति व्यहोर्‍यो
मेरो मेलम्चीले
मेरो सिन्धुपाल्चोकले

© डम्बर थामी ‘अनुपम’

तपाईको प्रतिक्रिया