कविता: नदीको गर्जन

प्रकाशित मिति :  292 पटक हेरिएको

म नदी हुँ
मेरो आफ्नै नियम छ
छुट्टै विधान छ
आफ्नै पहिचान छ
मलाइ मेरै ढंगले
मेरै बाटोमा अनवरत
बग्न देऊ
तिम्रो कृत्रिम शासनमा
म शासित हुन सक्दिन
मेरो आफ्नै अनुशासन छ।

जब जब तिमी
मेरो बाटोमा तगारो हाल्छौ
तब तब मैंले
आफुलाई बँग्याएर भएनी
नयाँ मार्ग खोल्नै पर्छ
जब अतिक्रम हुन थाल्दछ
मेरो अधिकारयुक्त बाटो
अनि ठडिन्छन तिम्रा
सपनाका महलहरु
तब छिचोल्नैपर्छ
भत्काएरै भएपनि
अविरल बग्नै पर्छ
किनकी बग्नु मेरो धर्म हो
यही नै मेरो कर्म हो।

अझ दोष मलाइ नै थुपार्छौ
अनि भन्न थाल्छौ
म तिम्रो बस्तीमा पसें
तर म ठोकुवाका साथ भन्छु
तिम्रो बस्ती मेरो बाटोमा पस्यो
मैंले त सिर्फ
क्रान्तिको बिगुल फुकेको हुँ
आफ्नो अस्तित्वको खातिर
संघर्ष गरेको हुँ
बाटो छेकिएको पर्खाललाई
लडाएको हुँ
र नदी हुनुको धर्म निभाएको हुँ।

सदियौं देखिको
मेरो फराकिलो बाटोलाई
पटक पटक साँघुर्याउनु
तिम्रो साँघुरो सोचको
कहालीलाग्दो उपज हो
अनि अदूरदर्शीताको
पराकाष्ठा हो
तिम्रो कर्मको फल
भोग्दैछौ आज
दिगो विकासको मर्मलाई
लात हानेर
परम स्वार्थी हुनुको
कटु नतिजा व्यहोर्दैछौ आज।

त्यसैले मेरो बिन्ती छ
म प्रकृति देवी हुँ
तिम्रो कृत्रिमताले मलाई
ढाक्न नखोज
तिम्रो अहमताले मलाई
नाघ्न नखोज
तिम्रो कु-कृत्यको
जगमा टेकी मैंले गरेको
जघन्य विनासको
नैतिक जिम्मेवारी लिँदै
आत्मालोचना तिमीले नै गर्नुपर्छ
अनि तिम्रो र मेरो
सह-अस्तित्वको मार्गचित्र
अब तिमीले नै कोर्नुपर्छ।

© राज कुमार दोङ तामाङ
सुनापती-४, रामेछाप

तपाईको प्रतिक्रिया