सफेद झुटको कथा

प्रकाशित मिति :  263 पटक हेरिएको

यो उहिलै उहिलैको कथा हो
एउटै मान्छे
त्यो पनि पुरुषको शरीरबाट
अनेक थरि मान्छे जन्मेको कथा
जुन कथा अझै सुनिन्छ/ सुनाइन्छ

कथा यसरी सुरु हुन्छ-
जन्मदै बोकेर कितावको पोको
कोही जन्मियो मुखबाट
उसले ज्ञानमाथि कब्जा गर्यो
र आफूलाई सर्वज्ञानी घोषणा गर्यो ।

हातमा चम्किरहेको तरवार बोकेर
अर्को जन्म्यो पाखुराबाट
उसले क्षेत्र कब्जा गर्यो
र आफूलाई क्षेत्रपती घोषणा गर्यो !

असरर्फीको बोरा बोकेर
अर्को जन्म्यो पेटबाट
उसले ऐश्वर्य कव्जा गर्यो
र आफूलाई धनपती घोषणा गर्यो !

यी तीन थरि जन्मेर
कब्जा गरिसकेपछि सिरीखुरी
पैतालाबाट जन्म्यो अर्को
ऊसँग कब्जा गर्न वाँकि केही थिएन
ऊ चेप्टिएर बसिरह्यो
उसले केही घोषणा गरेन
बोल्नुभन्दा अगाडि नै
उसको जिब्रो थुतियो
आँखा झिकियो
र कानमा झिर रोपियो
मौन, दृष्टिविहीन र श्रवणहीन बनेर
उसले हजारौं वर्ष वितायो
जो ऐले पनि पैतालामुनि नै छ !

यो कथा पढिसकेपछि
चिकित्सा शास्त्र अर्ध-मुर्छित छ
हजारौं वर्ष पहिलै
कसरी संभव भयो होला
शिरमा
पाखुरामा
आमासयमा
र पैतालामा गर्भाधान ?

विस्मय र लज्जा मिश्रित अनुहारमा
झोक्राइरहेछ विज्ञान !

यो थियो सर्व ज्ञानीहरूले लेखेको
सफेद झुटको कथा
दोश्रो कथा अब लेखिन वाँकि छ
दोश्रो कथाको लेखन
पैतालामुनिबाट निस्केर
पैतालामुनिको मान्छेले गर्ने छ
र त्यो कथा पढेपछि
पश्चातापको आगोमा जलेर
मुखबाट जन्मनेका सन्तानहरू
धेरैले आत्महत्या गर्ने छन् !

© बलराम तिमल्सिना
भक्तपुर

तपाईको प्रतिक्रिया