डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकपको फाइनलमा

प्रकाशित मिति :  23 पटक हेरिएको

काठमाडौँ । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औँ संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औँ मिनेटमा डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । खेलको ३९ औँ मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो ।

निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औँ मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गर्दै जित दिलाएका थिए ।

अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।

इटालीले सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरेको हो ।

 

तपाईको प्रतिक्रिया