कविता: बालुवाटार बहिर्गमन

प्रकाशित मिति :  433 पटक हेरिएको

राज दरवार छोड्न
जति सकस पर्छ राजाहरूलाई
झण्डै झण्डै त्यस्तै सकसले भयो
निजको वालुवाटार बहिर्गमन !

निजले आफूलाई
झण्डै झण्डै राजै सोचेको थियो
ठाँठवाँठ फुर्तीफार्ती
लगभग राजा वा सरह थियो
अपेक्षा र अहम् राजाकै जस्तो थियो
उद्देश्य या अनुमान
राजाकै जस्तो हुँला भन्ने थियो !

समय यसरी विकसित भयो कि
निजको पनि राजकाज चिप्लियो
मान्छेहरूले ब्यग्रतापूर्वक प्रतिक्षा गरे
निजको बहिर्गमनको !

उसको बहिर्गमनमा
दु:खी बनेर
कसैले आशौच वारे
खुसी बनेर
कसैले आशौच फुकाए !

वुध्दले दरवार छोडेको त्यागजस्तै
नयाँ वुध्द जन्मे भनेर
कसैले धुमधाम दिवस मनाए !

युगलराजलाई
एकल राजमा अलपत्र छोडेर
बाहिर बाहिर हाँस्दै
भित्र भित्र भक्कानिएर रुदै
मनभरि इर्स्या, डाहा र वदलाभाव बोकेर
निजले ‘बा’ बाट ‘बा’ मा बसाइँ सर्यो !

उसको बहिर्गमनपछि
जसको आगमन भयो बालुवाटारमा
उसको पनि बहिर्गमन हुने छ
सापहरू पालै पालो निस्कने छन्
सापहरू नै फेरि छिर्ने छन
हामी भने
अप्ठेरो ठाउँको पिलो फुटेको भ्रममा
दुखाई निरोधक बुटी खाएर सुत्ने छौं
र अर्को पिलो दुख्न नथालुन्जेल
निजको बहिर्गमनको कथा सुनाएर
नानी- बाबुहरूलाई ढाँट्ने छौं !

शोकलाई शक्तिमा बदल्नु पर्छ भन्दै
मलामीको जुलुसमा
पञ्चे बाजा बजाए जसरी
पञ्च र्यालीकै झल्को मेट्ने गरी
निजको बालुवाटार बहिर्गमनले
एउटा रमाइलो हाँस्य व्यङ्ग मञ्चन गर्यो !

निजको बहिर्गमन
सिँगान झर्नुजस्तै
दिसा खुस्कनुजस्तै
पिसाव उम्कनुजस्तै
या स्वप्नदोष जस्तै
एउटा मामुली घटना थियो
तर त्यही मामुली घटना पनि
हामी दु:खीहरूका लागि
एउटा मीठो मनोरञ्जन भैदियो !

© बलराम तिमल्सिना
माइतीघर

तपाईको प्रतिक्रिया