कविता: खुङ्खार शत्रु

प्रकाशित मिति :  18 पटक हेरिएको

जता हेर्यो
त्यतै भत्केको छ देश
भत्केको छ थिति
भत्केको छ नीति
कतै छैन प्रितिकर दृष्य
भताभुङ्ग बनेर
भत्केको छ मन
यो बेला पनि खुसी छ भने कोही
त्यो हाम्रो शत्रुको मित्रु हुनु पर्छ
त्यो यो देशको खुङ्खार शत्रु हुनु पर्छ !

रहर लाग्दो उमेरका युवाहरू
उडिरहेछन् विदेशतिर
उनीहरूसँगै भुरुरु उडेको छ
बाउ-आमाको मन
देश वृध्दाश्रम बन्न खोज्दै छ
भोकले लखेटेको छ
रोगले लखेटेको छ
साहुले लखेटेको छ
सरकारले लखेटेको छ
भाग्दा भाग्दा हैरान छन् मान्छेहरू
यो समय पनि उत्साहित हुँदै
को भनिरेछ –
फलाना बा-आइ लभ यु ?
जो यसो भनिरहेको छ
त्यो हाम्रो दुस्मनको दोस्त हुनु पर्छ
त्यो हामी वाँचेको समयको
सबैभन्दा खतरनाक मान्छे हुनु पर्छ !

त्यो मान्छे
जो देशलाई पसल बनाएर बसेको छ
राजनीतिलाई फसल बनाएर बसेको छ
चोर डाका गुण्डा तस्करहरूलाई
अत्तर छर्केर असलु बनाएर बसेको छ
हाम्रा छात्तीलाई मैदान बनाएर
हाम्रै टाउकाको लात्ते भकुण्डो खेल्ने
त्यो स्वघोषित खेलाडी को होला ?
त्यो वाचाल अनाडी को होला ?
त्यो जो भए पनि
हाम्रा बैरीहरूको बा हुनु पर्छ
हामी निमुखाहरूको खुङ्खार सत्रु हुनु पर्छ !

हामीलाई
नशामा डुवाएर पाँच पाँच बर्षमा
हाम्रा औंठा छापको डकैती गर्ने
त्यही औंठा छापको किर्ते कागज देखाएर
हामीमाथि शासन गर्ने
हाम्रो रगत पसिना शोषण गर्ने
जय नेपाल भन्दै आए पनि
लाल सलाम भन्दै आए पनि
जय देश जय नरेश भन्दै
या जय मधेश भन्दै आए पनि
त्यो हाम्रो दुस्खको दौत्यरी हुनु पर्छ
त्यो हाम्रो सपनाको शत्रु हुनु पर्छ!

© बलराम तिमल्सिना

तपाईको प्रतिक्रिया