कविता: मालिकको लागि विस्मात !

प्रकाशित मिति :  98 पटक हेरिएको

मालिक
तपाईका लाखौं सैनिकहरू छन्
लाखौं प्रहरीहरू छन्
उनीहरूका हातमा
लाखौं हतियारहरू छन्
लाखौं कर्मचारीहरू छन्
ती जालझेल गर्न सिपालु छन
ती हानठोक गर्न माहिर छन
तपाईका लाखौं लठैतहरू छन्
ती ढुङ्गामुढा गर्न सिध्दहस्त छन्
तर मालिक
हजुरलाई दु:खको कुरा छ
तीसँग पाखुरा र तिघ्रा मात्र छैनन्
बन्दूक र हतकडी मात्र छैनन्
लाठी र ढुङ्गाहरू मात्र छैनन्
तिनीहरूसँग छ एक थान दिमाग
र त्यो दिमाग
तर्क सुनेपछि बटारिन थाल्छ !

तिनीहरूको दिमागले
हजुरका कुरा मात्र सुन्दैन
हाम्रा कुरा पनि सुन्छ
झुट मात्र सुन्दैन
सत्य पनि सुन्छ
तथ्यहरूले पगाले पछि
तिनीहरूको दिमाग पनि पग्लन्छ
तिनीहरूसँग दिमाग हुनु
मालिकको लागि विस्मातको कुरा हो !

मालिक,
जतिसुकै कडा आदेश दिए पनि
तपाईका आदेश पालकहरूसँग
एक जोर आँखाहरू पनि छन्
हजुरले चालै नपाई तिनीहरू
हजुरले बर्जित गरेको दिशातिर पनि हेर्छन्
हजुरले बर्जित गरेको कुरा पनि देख्छन्
हजुरले जे कुरालाई
जुन रङ्गको हुन्छ भन्नु भएको हुन्छ
त्यही कुरा हजुरले भनेभन्दा
तिनीहरू फरक रङ्गमा देख्छन्
र मनमनै हजुरलाई खिस्याउँछन्
तिनीहरूसँग एक जोर आँखा भैदिनु
हजुरको लागि भारी विस्मात भो मालिक !

मालिक ,
तपाईका बज्रङ्गदलसँग
एक जोर कान पनि छन्
ती कानहरू पनि बडो मापाका छन्
ती कानहरू छन् नि मालिक
ती तपाईले अह्राएको गीत मात्र सुन्दैनन्
हजुर ओझेलमा रहेका बखत
ती कानहरू अनेकओली सुन्छन्
हजुरले पटक्कै नसुनाएका खवरहरू
ती कता कताबाट सुन्छन
कति कुरा त ती
हजुरभन्दा पहिलै सुन्छन्
हजुरको अगाडि मात्रै हो
ती लाटा सोझा पल्टिएका
भित्र भित्र ती छुरा छन् मालिक
तिनीहरूसँग चङ्ख कान हुनु
मालिकको लागि अर्को विस्मात भैदियो ।

मालिक
हजुरका जति पनि सेवकहरू छन
दु:खको कुरा के भैदियो भने
ती सबै कान सुन्ने
ती सबै आँखा देख्ने
र ती सबै दिमाग चल्ने छन्
सेवकदलमा
आँखा देख्ने
कान सुन्ने
र दिमाग चल्नेहरू हुनु
मालिकको लागि भारी विस्मात हो !

© बलराम तिमल्सिना

तपाईको प्रतिक्रिया