कविता: पहिलो तथा अन्तिम परीक्षा !

प्रकाशित मिति :  203 पटक हेरिएको

को सत र असत को ?
को इमानी र वेइमानी को ?
को ज्ञानी र अज्ञानी को ?
आऊ एउटा परीक्षामा सहभागी होऔं
दूधको दूध पानीको पानी छुट्याऊँ
र इतिहासका पानामा
परीक्षाको नतिजा राखिएको
एउटा नौलो पाना थपिदिऊँ !

सबैभन्दा पहिले आऊ
मुखबाट जन्मेकाहरू
धर्मशास्त्रलाई साँक्षी राखेर
एउटा बच्चा मुखबाट जन्माएर देखाइदेऊ
त्यसपछि तिमीलाई ऋषि मानौंला
त्यसपछि सात जुनी अझै
तिम्रो निस्वार्थ सेवा गरौंला !

त्यसपछि आऊ
पाखुराबाट जन्मनेहरू
तिम्रो तरवारलाई साँक्षी राखेर
एउटा परीक्षा पास गरेर देखाऊ
एउटा बच्चा पाखुराबाट जन्माएर देखाऊ
त्यसपछि तिमीलाई अझै राजा मानौंला !

पेटबाट जन्मनेहरू पनि आऊ
तिमीहरू पनि देखाऊ
पेटबाट बच्चा जन्माएर
यदि त्यसो गर्न सक्यौ भने
तिम्रो पैतालामुनि
सात जुनी अझै बसिदिउँला !

हामी त जन्मेका हौं
प्रकृतिले तोकेकै द्वारबाट
हामीले कहिलै गरेनौं
प्राकृतिक सिध्दान्तको उपहास
आफूलाई
सर्वज्ञानी
सर्वेसर्वा
वैभवशाली संझने
तिमीहरू नै हौ उल्टो पाल्टो सोच्ने !

यो परीक्षा
पहिलो पनि हुने छ
र अन्तिम पनि हुने छ
आऊ योग्यता प्रमाणित गर
र ,हामी “अयोग्य”हरूलाई जितेर देखाऊ

© बलराम तिमल्सिना
भक्तपुर

तपाईको प्रतिक्रिया