कविता: शिक्षकसँग विद्यार्थी !

प्रकाशित मिति :  49 पटक हेरिएको

सर नमस्कार !
केही प्रश्न सोध्नु थियो सर
भन के सोध्नु छ ?

सरस्वती विद्याकी देवी है सर ?
हो नि विद्याकी देवी हुन !

अनि नि सर ,
यो कखगघ
यो एविसिडि
जम्मै सरस्वतीले लेखेको हो सर ?

चुप लाग लाटा
यस्तो कुरा मलाई थाहा छैन !

अनि नि सर ,
वेद, पुराण , गीता
बाइवल, कुरान , त्रिपिटक
जम्मै सरस्वतीले लेखेको हो सर ?

तँ बाठो पल्टेको ?
तैंले अव भाटो खाने भइस ।

सरी सर,
सरसँग नसोधेर कस्लाई सोध्नु त ?
घरमा बालाई सोधेको
बालाई त आउदैन रे
सरलाई सोधेर आइज भन्नु भो सर !

मलाई सरस्वतीले लेखेको
कुनै किताव भए
कुनै कथा भए
कुनै गीत या कविता भए
कुनै चित्र या अक्षर भए
कृपया भनिदिनू न सर !

भाते लठुवा
तँलाई रेस्टिकेट गर्छु म
कितावभित्रको सोध
दशतिर मन डुलाएर
सरलाई पनि नआउने प्रश्न सोध्ने तँ ?

सरी सर
मैले त जान्न खोजेको
के जान्ने हुन खोज्नु
विद्यार्थीको अनुशासनमा पर्दैन सर ?

© बलराम तिमल्सिना

तपाईको प्रतिक्रिया