कविता: शत्रुहरू!

प्रकाशित मिति :  207 पटक हेरिएको

च्यातेर बादलका
असंख्य पत्रहरू
एक अञ्जुली घाम
ओरालेका थियौँ हामीले
हाम्रा बस्तीहरूमा
रातमा राज गर्न आदत बसेकाहरूलाई
त्यही घाम पनि धेर भएको छ !

हामीले घाम तापेको देखेर
हामी घामको उज्यालोमा हिडेको देखेर
हामीले उज्यालोमा बाटो देखेको देखेर
तिनीहरू अत्तालिन थालेका छन्
बर्बराउन थालेका छन्
र भन्न थालेका छन्
‘आऊ जनमत संग्रह गरौँ
घाम प्यारो कि रात प्यारो’ !

तिनीहरू
कहिले निस्कन्छन्
नागार्जुनको जङ्गलबाट
र हाप्सिलो जसरी कराउँछन्
तिनीहरू
कहिले निस्कन्छन्
वालकोटको आँगनबाट
र तिघ्रा ठटाउँदै उफ्रन्छन्
तिनीहरू
कहिले निस्कन्छन्
विवेकहीन विवेकबाट
साझा हुनै नसक्ने साझाबाट
र , झुसिलो डकार निकाल्छन्
ती जताबाट निस्के पनि
एउटै भाषा बोल्छन्-
‘घाम अति भयो,
घामले खती भयो,
यो घाम जसरी पनि मास्नै पर्छ’ !

तिनीहरू कोही
फलानो आऊ देश बचाऊ भन्दै आउँछन्
तिनीहरू कोही
फलाना बा आइ लभ यु भन्दै आउँछन
तिनीहरू कोही
सङ्घीयता मासौँ
साझा हाँसो हाँसौँ भन्दै आउँछन्
जे जे भन्दै आए पनि
जुन जुन झण्डा बोकेर आए पनि
तिनीहरू सबै
हाम्रो खुसी खोस्न आउँछन्
तिनीहरू सबै
हाम्रो रगतै चुस्न आउँछन् !

तिनीहरू
घामसँग डराउँछन्
र घाम मासौं भन्छन्
जूनसँग डराउँछन्
र जून मासौँ भन्छन्
ताराहरूसँग पनि डराउँछन्
र ताराहरू पनि मासौं भन्छन्
तिनीहरू सबै
उज्यालोसँग डराउँछन्
र उज्यालो मासौँ भन्छन्
अँध्यारोमा हाँसौँ भन्छन् !

मेरा प्रिय मान्छेहरू ,
तपाईँहरूको वरिपरि पनि
के यस खालका मान्छेहरू छन् ?

© बलराम तिमल्सिना

 

तपाईको प्रतिक्रिया