कविता: भ्रम

प्रकाशित मिति :  302 पटक हेरिएको

तिमीलाई त मैले
जीवनको अग्लो सगरमाथा सम्झेकोथे
न कि
तिमी नै अन्तिम गन्तव्य हौ
तिमीभन्दा अग्लो अरु कुनै पर्वत छैन
तर तिमी त
बतासले उडाइजाने
बादलको थुम्को पो रहेछौ

तिमीलाई त मैले अबिरल बगिरहने
कोशी कर्णाली सम्झेकोथे
तर तिमी त
झरीमा ह्वात्त बढ्ने र झरी थामिनासाथ सुक्ने
खहरे पो रहेछौ

तिमीलाई त मैले
अगेनुमा झोसेको भर्भराउँदो अगुल्ठो सम्झेकोथे
लाग्थ्यो तिमीले मात्र
जोगाउन सक्छौ मानव अस्तित्व
तर तिमी त चट्याङको झिल्को मात्र पो रहेछौ

तिमीलाई त मैले उदाहरणिय मान्छे सम्झेकोथे
तर तिमी त
किसानले बारीमा उभ्याएको
दुरुस्तै मान्छेको रुप भएको
कुनै अस्तित्वहिन
एउटा बुख्याँचा पो रहेछौ

सम्झेकोथे
तिमी आन्दोलन हौ
तिमी परिवर्तन हौ
तिमी भर्भराउँदो आगो हौ
तिमी समय हौ

यी सबै सबै त मेरो भ्रम थिएछ

तिम्रो विचारभित्र लुकेको कुविचार
तिम्रो इमानभित्र लुकेको बेइमानी
आदर्शभित्र लुकेको स्वार्थ
महानताभित्र लुकेको आडम्बर
जब तिम्रो सम्मुख पुगे र तिमीलाई छोइ हेरे
तब पो थाहा भयो
तिमीमाथि मेरो कत्रो भ्रम रहेछ ?

© प्रेमिला राई

तपाईको प्रतिक्रिया