कविता: तिमीसँग सबै कुरा छ !

प्रकाशित मिति :  333 पटक हेरिएको

तिमीसँग
सेना छ
प्रहरी छ
अम्रिका छ
भारत छ
पैसा छ
पद छ
पहुँच छ
तिमीसँग सबै कुरा छ ।

बन्दूक छ
तोप छ
ट्याङ्कर छ
फाइटर छ
हतकडी छ
हिरासत छ
झ्यालखाना छ
कानून छ
अदालत छ
तिमीसँग सबै कुरा छ !

गुण्डाहरू छन्
तस्करहरू छन्
अन्नदाता
चन्दादाता
सत्तादाता
तिमीसँग सबै कुरा छन्!

मन्दिर तिमीसँग छ
मस्जिद तिमीसँग छ
चर्च छ/ चैत्य छ
गुरुद्वारा तिमीसँग छ
वेद छ
कुरान छ
वाइवल छ
त्रिपिटक छ
ईश्वर/ अल्ला सबै तिमीसँगै छ
तिमीसँग सबै कुरा छ !

स्वर्गको टिकट तिमीसँगै छ
नरकको ढोकाको चाबी पनि तिमीसँगै छ
ईश्वरसँग बात मार्ने भाषा
यमराजलाई निवेदन लेख्ने काइदा
मानिसहरूका जिन्दगीको
फैसला लेख्ने कलम
त्यो सबै तिमीसँग छ।

संसारकै
सबैभन्दा मिठो मदिरा
रसिला फलफूलहरू
एक से एक सुन्दरीहरू
सबैभन्दा वलवान सुण्डमुण्डहरू
सबैभन्दा खतरनाक बन्दूक
सबैभन्दा नामी हत्यारा
साराका सारा तिमीसँग छ ।

हाम्रो पसिनाको पोखरी
हाम्रो रगतको नदी
आँसुको कुवा
र हाम्रो मेहनतले आर्जेको
सबै सम्पती तिमीसँगै छ !

तर तिमीसँग थोरै कुराहरू छैनन्
बहुमत छ-
तर जनमत छैन
वर्तमान छ-
तर भविष्य छैन
तिमीलाई
आफ्नै आँखासँग विश्वास छैन
आफ्नै कान
आफ्नै खुट्टा
र आफ्नै गिदीसँग विश्वास छैन
तिमीसँग जे जे छन् ऐले
ती सबै अरुका मात्र छन्
जुन दिन ती रहने छैनन्
तिमीसँग केही रहने छैन !

जिन्दगीका अन्तिम दिनहरूमा
आज जो जो तिम्रा छन
ती कोही
सुसाइड नोट लेख्नको लागि
तिमीसँग कपी र कलम पनि हुने छैन ।

किन कि
तिमीले आजसम्म
अपराध बाहेक
लुटपाट बाहेक
जालझेल बाहेक
मोजमस्ती बाहेक
दमन-उत्पीडन बाहेक
एक कौडी पनि उत्पादन गरेका छैनौ !

आज तिमीसँग जे छ
त्यो सबै हाम्रो हो
जुन दिन
हाम्रो पसिना हाम्रो हुने छ
तिमी सय पुस्ताको लागि ऋणमा हुने छौ !

तिमीसँग सबै कुरा छ
तर तिमीसँग केही पनि छैन !

© बलराम तिमल्सिना
माइतीघर, काठमाण्डौ

तपाईको प्रतिक्रिया