कविता: म नास्तिक हुँ !

प्रकाशित मिति :  1127 पटक हेरिएको

हो महाशय
म नास्तिक हुँ !

तिम्रो ईश्वर
तिम्रो अल्लाह
तिम्रो यशु प्रभु
तिम्रो वुध्द
ती कोही पनि आएनन्
मान्छेका ठूला ठूला विपत्तिमा !

बगदादको छात्तीमा होस
या अफगानी निधारमा
हिरोसिमाको छात्तीमा होस
या नागासाकीको खप्परमा
खसिरहेको समय भयानक वमहरू
खै त कुनै अल्लाह आएनन्
कुनै ईश्वरले रोकेनन्
कुनै यशुले संझाएनन्
ती थिएनन् त्यसैले आएनन् !

सिङ्गै भारत वर्ष
जसलाई तिमी भन्थ्यौ
आर्यहरूको पवित्र भूमि
त्यो भूमिमा
पटक पटक भयो अतिक्रमण
सयौं वर्ष बन्यौ तिमी गुलाम
पटक पटक पुकार्यौ तिमीले
तर तिम्रो सारथी बन्न
खै त कुनै कृष्ण आएनन् ?
आफ्ना भक्तहरू बचाउन
खै त कुनै राम आएनन् ?

यौटा अदृश्य कीरो
विश्व विजेता बनेको छ अचेल
सिङ्गै विश्वमा हाहाकार छ
यो हाहाकार र चित्कारमा
तिम्रो भगवान
कुन चिहानमा सुतेको छ ?

जो कहिलै फर्केर आएन
जो कहाँ बस्छ कुनै ठेगाना छैन
जो अहिले के गर्दै छ कुनै खवर छैन
यशु, विष्णु, अल्लाह, वुध्द
सँगै छन् कतै कि अलग अलग छन्
के तिमीलाई ईश्वरको ठेगाना थाहा छ ?

जुन ईश्वरलाई बस्न
चर्च, गुम्वा, मस्जिद या मन्दिर
मान्छेले बनाइदिनु पर्छ
जुन ईश्वरको प्रतिमा
मान्छेले नै बनाइदिनु पर्छ
जसको लागि धूप दीप या नैवेद्य
मान्छेले नै तयार गर्नु पर्छ
जुन स्थानको बत्ती मान्छेले नै बाल्नु पर्छ
ईश्वर कहिलै घण्टसम्म बजाउदैन
त्यो पनि मान्छेले नै बजाउनु पर्छ
सबै कुरा मान्छेले नै गर्नु परेपछि
नाथे ईश्वर किन चाहियो ?

यो घाम यो जुन
यी ग्रह नक्षत्र र ताराहरू
यो रात र दिन
यो हिउँद र गर्मी
यो जीवन र मृत्यु
यो भोक र निद्रा
यो हाँसो र आशु
यी सपना र कल्पना
यो लडाइँ र झगडा
कहाँ छ ईश्वरको भूमिका ?

हो महाशय
भिमकाय आकासीय पिण्डदेखि
अणु परमाणुदेखि तरङ्गसम्म
कतै नभेटेपछि ईश्वरको अस्तित्व
म खसोखास नास्तिक बनेको हुँ !

तिमी भन्छौ-
प्रभु यशूले संसार रचे
प्रभु यशूभन्दा पहिलै थियो संसार
भैरहेको संसार कसरी रचे उनले ?

तिमी अर्का थरी भन्छौ-
यो सव अल्लाहको योगदान हो
अल्लाहभन्दा पहिलै थियो संसार
पहिलै थियो विश्व व्रम्हाण्ड
अनि कसरी रच्छन् उनले ?

अर्का थरीको जिद्दी छ
रामले रचेका हुन् यो संसार
अरे वालक !
राम स्वयम् जन्मेका हुन्
कौशिल्याको गर्भबाट
बिचरा उनले के रचे षडयन्त्र बाहेक ?

वुध्द त अस्ति जन्मेका हुन लुम्विनीमा
त्योभन्दा पहिलै थिए
उनका बाउ राजा
अनि के रचे उनले ?

ईश्वर त मान्छेको
कायर, कपटी र कलात्मक मनको
कठोर उत्पादन हो
ईश्वर त
मान्छेको मन-मैथुनको सन्तान हो
अनि कसरी हुन्छ
ऊ सारा प्राणीको रचयिता ?

ईश्वर नमानेको अपराधमा
मृत्युपछिको नरकको
मलाई कुनै भय छैन
मृत्युपछि म स्वयम रहन्न
स्वर्ग, नरक, वैकुण्ठ
यी सब छलछामका
रहस्तमय यातना लोकहरू हुन् !

सक्छौ भने मलाई
ईश्वरको ठेगाना बताइदेऊ
म वेठेगानको चिजलाई मान्न
एकदमै असमर्थ छु !

ईश्वरको ठेगाना नभेटियुन्जेल
कृपया मलाई नास्तिक रहन देऊ
म आफ्नो प्रज्ञानको वल सहित भन्छू-
म नास्तिक हुँ
म नास्तिक हुँ
म नास्तिक हुँ !

© बलराम तिमल्सिना
भक्तपुर

तपाईको प्रतिक्रिया