नेप्सेमा सामान्य सुधार, वित्त क्षेत्रमा लगानीकर्ताको आकर्षण

प्रकाशित मिति :  238 पटक हेरिएको

काठमाडौँ । विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ती उपसमूहअन्तर्गत कम्पनीको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबार नेप्से ०.२३ बिन्दुले बढेर तीन हजार १६०.३१ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३५ बिन्दुले बढेर ५९३.२८ मा पुगेको छ । कूल २२१ कम्पनीको तीन करोड छ लाख १३ हजार ४३९ कित्ता शेयर रु १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ मूल्यमा खरिद बिक्री भए ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ४३ करोड ७० लाख ९० हजार बराबर पुगेको छ । यो हालसम्मकै उच्च बजार पूँजीकरण हो । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ २३.१८, व्यापार ५९.५, होटल तथा पर्यटन ३८.०६, निर्जीवन बीमा १३२.५९, अन्य ३५.३६, जीवन बीमा २५१.७८ र सामूहिक लगानी कोष ०.१५ बिन्दुले घटेको छ । यस्तै, विकास बैंक २९२.७३, जलविद्युत् ११६.९३, वित्त १४१.७७, उत्पादन ८९.७१, लघुवित्त ५.४९ र लगानी ०.०७ बिन्दुले बढेको छ ।

कारोबारका अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८६ करोड ३८ लाख २४ हजार ७१७ बराबरको कारोबार भयो । एचआइडिसिएल रु ६२ करोड ४० लाख ७५ हजार ७९५, अरुण काबेली पावर रु ६० करोड ३४ लाख ३१ हजार ९९९, रिडी हाइड्रोपावर रु ५५ करोड १९ लाख १५ हजार ७०१ र अरुण भ्याली हाइड्रोपावर रु ४३ करोड ७० लाख ४६ हजार २२३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया