लघुकथा : तुइन

  अस्मिता प्रकाशित मिति :  397 पटक हेरिएको

‘हजुरआमा, हिजोआज रेडियोले सधैँ तुइन तुइन र जयसिंह धामी भनिरहन्छ नि । के हो यो तुइन भनेको ?’
दस वर्षकी नातिनीले मसँगसँगै रेडियोको समाचार सुनेपछि मलाई प्रश्न गरेकी थिई ।

‘पुल नबनेका पहाडी खोलामा मान्छे अथवा सरसामान पनि तार्नका लागि खोला वारि र पारि लट्ठामा बाँधिएको बलियो डोरी हो क्या नानी तुइन भनेको ।’
मैले छोटकरीमा उसको जिज्ञाशा शान्त पार्ने प्रयत्न गरेकी थिएँ र फेरि म आफ्नै काममा अल्मलिएकी थिएँ ।

‘अनि हजुरआमा त्यो जयसिंह धामी त्यसरी तुइनमा तर्दातर्दै भारतीय एसएसबीले किन भारततिरबाट डोरी खुस्काइदिएको होला है ? धामी अङ्कलको त मजस्तै सानासाना छोराछोरी पनि रै’छन् नि है । उनीहरूको पापा खोलामा खसेपछि घर नआउँदा तिनीहरू कति रूँदै छन् होला है ! विचरा … मलाई त कस्तो माया लागेर आयो ! हजुरलाई लागेन ?’ नातिनीले रूनै खोजेर भनेकी थिई ।

उसको प्रश्नले मलाई एकैछिन रनन्न पार्यो । यो सानी नानीले पनि यति कुरा बुझ्छे । तर जसले बुझ्नु पर्ने हो उनीहरूले बुझ्नै चाहँदैनन् ।

अब यसलाई पो के जवाफ दिनु ?

‘खोलाको तुइनमात्रै होइन हाम्रो देश नै पो तुइन भएको छ । मेरी प्यारी आस्था, तिमीलाई म कसरी बुझाऊँ र ? हाम्रो देशको तुइनको डोरी पारि पट्टिबाट एकोहोरो काटिरहेका छन्, अनि वारिबाट पनि पो डोरी छिनाउन सघाइरहेका छन् ।
त्यो डोरी छिनेपछि त जयसिंहमात्रै हो र ? हामी सबै पनि पो डुब्छौँ त।’

मेरा काखमा बसेकी आस्था मेरो कुरा नबुझेर मेरा अनुहारमा उसका चिम्सा आँखाले एकनास हेरिरहेकी छे ।

© इन्दिरा प्रसाई

तपाईको प्रतिक्रिया