प्रतिकूल समयको प्रतिरोध सिमखेत एम्बुश 

प्रकाशित मिति :  837 पटक हेरिएको

अजेयता रक्षामा सिमित छ, विजयको संभावना आक्रमणमा निहित छ ।”  – सुन त्जु माथि उल्लेखित महत्त्वपूर्ण भनाई प्राचीन युद्धशास्त्री चिनियाँ सैनिक जनरल सुन त्जुको हो । उनको जन्म ठ्याक्कै थाहा हुन नसके पनि ईशापूर्व ५४४ मा भएको मानिन्छ । उनी एक कुशल शानदार, रणनीतिकार थिए । जनक्रान्तिको समयमा सुन त्जुको युद्धकला (The arts of war) भन्ने किताब खुबै पढियो । चिनो लगाई-लगाई नोट पनि गरियो । र प्रतिकूल समयमा दुश्मनलाई आक्रमण गर्ने युद्धकला पनि सिकियो । हामी प्रत्येक छापामारको झोलामा सुन त्जुको युद्धकला हुन्थ्यो । यस्तो किताब पढेपछि धेरै ठूलो साहस पैदा हुन्थ्यो । उर्जा पैदा हुन्थ्यो । विशेष गरी छापामार शैलीका आक्रमणको लागि यसले ठूलो भूमिका निर्वाह गरेको थियो । ‘ आक्रमण र रक्षा ‘ अनि रक्षा, शक्ति सन्चय र पुनः आक्रमण । यही फौजी ट्याक्टिसलाई मन्त्रको रूपमा जप्दै लडाइँका मोर्चाहरुमा होमिने हाम्रो विशेषता थियो । मोर्चाबद्ध लडाइँ र छापामार लडाइँमा हामीले सफलता प्राप्त गर्न एक अपार आधार पनि यही थियो । क. माओको ‘ सैन्य संकलित रचनाहरु ‘ त झन हाम्रो मुख्य सैन्य बिज्ञान नै थियो । शक्तिशाली अस्त्र-क्षेप्यास्त्र नै थियो । यसरी रणनीतिक रक्षा, सन्तुलन र आक्रमणको बक्ररेखाबाट जनयुद्ध गुज्रिएको थियो । ” संगठनको प्रधान रुप फौज र संघर्षको प्रधान रुप युद्ध  ” भन्ने सिद्धान्तलाई आत्मसात गरेका थियौं । त्यसैले मैले यहाँ पनि प्रतिकूल समयको बेलामा प्रतिरोध गरेको छापामार रणकौशलको बारेमा उल्लेख गर्न गईरहेको छु ।

२०५५ सालमा ‘ किलो शेरा टू ‘ भन्ने खतरनाक अप्रेसन चलेपछि हामीलाई बाँच्न निकै गार्‍हो पर्‍यो । कतिबेला कहाँ मरिन्छ र कुन साथी ढलेको खबर आउने हो ! भन्ने अत्यासमै छापामार जिन्दगी गुज्रियो । गाउँ बस्तीमा जनताका बग्रेल्ती लासहरु छरिए ।हामी सबैको जिन्दगी आँधी बेहेरीको कथा जस्तै भयो । क्षमताले भ्याएसम्मका प्रतिरोधका कार्वाहीहरु त गरियो । हाई टेकका विरुद्ध लो टेकले त लडियो । तर प्रभावकारी फौजी कार्वाहीहरु हुन सकेन । घेरा तोड्ने र प्रतिरोध गर्ने कार्वाहीहरु चाहिँ धेरै धेरै सम्पन्न भए । प्रतिरोध नगरी त बाँच्ने अवस्था नै थिएन । तर यसरी प्रतिरोध गर्दै दुश्मनसँग मुकाबिला गर्दै जाँदा स्थिति अर्को भईसकेछ । वातावरण त अर्कै बनिसकेछ । त्यो  के थियो भने पार्टीले ” आधार ईलाका निर्माणको दिशामा अघि बढ्ने ” संकल्प गरेको थियो । यो असाध्यै  चुनौतीपूर्ण कदम थियो । आधार ईलाकाहरु बचाउनको लागि र विस्तार गर्नको लागि त झन फौजी र राजनीतिक रूपमा अब्बल साबित हुनुपर्ने थियो । त्यसैले हामी पनि त्यही अभियानमा थियौं । त्यो बेलामा पार्टीको संरचना अनुसार (सिन्धु+दोलखा) संयुक्त जिल्ला थियो । जिल्ला सेक्रेटरी थिए रित बहादुर खड्का (क.प्रताप) । क. प्रताप सैन्य राजनीति क्षमता राख्ने एक कुशल नेता थिए । फौजी र गैर फौजी योजनाहरु बनाउन निकै सिपालु थिए । हामीले उनी जस्तो कुशल नेतृत्व पाउँदा खुब खुशी भएका थियौं । जिल्ला कमिटीको बैठकमा उनले हामीलाई सिन्धुपाल्चोक  जिल्लाको पश्चिमी ईलाकामा एउटा फौजी प्रतिरोधको कार्वाही जसरी पनि सम्पन्न गर्नुपर्ने । र त्यो कार्वाहीको नेतृत्व मैले नै  गर्नुपर्ने गम्भीर योजना सुनाए ।

सिन्धुपाल्चोक जिल्लाको पश्चिमी ईलाका (काठमाडौ नजिक) मा दुश्मनको गतिविधि निकै बढेको थियो । साथीहरूलाई पार्टीको गतिविधि सन्चालन गर्न पनि निकै मुस्किल परेको अवस्था थियो । केही समय पहिले ईलाका सेक्रेटरी क. पदम चौलागाईं (बालक) को शहादत भएको थियो । त्यसैले त्यो ईलाकामा प्रतिरोध स्वरुप जसरी भए पनि एउटा फौजी कार्वाही सफल गर्नुपर्ने भन्ने जिल्ला पार्टीको निर्देशन अनुसार हामी तयार भयौं । पार्टीको योजनामा बिना हिच्किचाहट हाम फाल्ने मेरो बानी थियो । चाहे मृत्यु नै भागमा किन नपरोस् ! हाम्रो टोलीमा क. अशोक, क. सज्जन, क. अनिश, क. सुमन र म थियौं । (क. सज्जनको मैनापोखरी मोर्चामा शहादत भयो । क. अनिशको दारेगौंडा भिडन्तमा शहादत भयो । क. सुमनको पनि  सिन्धुपाल्चोकमै शहादत भयो । क. अशोक जनक्रान्तिका ईमान्दार, सिद्धान्तनिष्ठ, शालीन, सरल स्वभावको क्रान्तिकारी हुन । मा. वि. तहमा शिक्षकको जागिर खाँदाखाँदै जागिर छोडेर जनयुद्धमा हाम फालेका क. अशोकबाट सिक्नुपर्ने कुराहरू धेरै छन् । उनको बारेमा आउँदा दिनहरूमा अबस्य नै चर्चा गर्नेछु ।) यसरी हाम्रो टोली तम्तयार  भयो । दस/दस किलोको सिलिन्डर माईन बोकेर हाम्रो यात्रा सिन्धुपाल्चोकको मांखाबाट शुरु भयो ।(मांखा पनि यस्तो गाउँ हो । धेरै नेतृत्वहरु जन्मिएको । क्रान्तिकारी जनसमुदाय भएका । र पहिलादेखि नै आधार ईलाका जत्तिकै गाउँ ।) हामी मांखाबाट चिलाउने, जलबीरे, बतासे, स्याउले, खस्रे, लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै भोटेनाम्लाङ पुग्यौं । बाटामा क्रान्तिका गफ । क्रान्ति सम्पन्न भएपछि विकास, निर्माण गर्ने मोडलको गफ खुबै गरियो । आखिर त्यो पनि मनको लड्डु घीउसँगै खाईएछ । केही आवस्यक तयारीहरु गरेर फेरि थाङ्पालधाप, ईचोक, क्युल हुँदै तालामाराङ पुग्यौं । त्यतिबेला तालामाराङ, सिन्धुकोट र भोटेचौर हाम्रो आधार ईलाका जस्तै थियो । दुश्मनको आँखामा परेर दमन गरेता पनि त्यहाँका क्रान्तिकारी जनसमुदाय सतिसाल जस्तै थिए । ती कहिल्यै नडगमगाउने जनताको अझै पनि खुबै याद आउँछ । क्रान्ति सम्पन्न भयो  भन्ने रट लगाउँदा । समाजवादको दिशातिर अघि बढ्ने रट लगाईरहँदा  त्यहाँका जनसमुदायको जिन्दगीमा परिवर्तन आयो कि आएन ? त्यो तत्कालीन अवस्थाका र हालका नेतृत्वलाई नै थाहा होला ।

हिंड्दा हिंड्दा लखतरान परेकोले तालामाराङ पुगेपछि एक दिन आराम गर्‍यौं । र थप प्राविधिक तयारीहरु पनि गर्‍यौं । माईन, डिटोनेटर, डाईनामाईट, गन पाउडर, तार, एक्स्प्लोडर सबै चेक जाँच गरेर तयारी हालतमा राख्यौं । र योजनाको बारेमा थप सल्लाह पनि गर्‍यौं ।  योजना कस्तो बन्यो भने तालामाराङ बजारमा रहेको खाली चौकी सेवोटेज गर्ने । चौकी सेबोटेज गरेपछि मेलम्ची ईलाका प्रहरी चौकीबाट पुलिस आउने ग्यारेन्टी हुन्छ । अनि बीच  बाटामा एम्बुश गर्ने । र दुश्मनलाई हायलकायल बनाउने । त्यही योजना मुताविक हामी २०५६ साल भाद्र १५ गते रेक्कीमा निस्कियौं । सबैभन्दा पहिले तालामाराङ बजारको खाली चौकी हेर्‍यौं । हरितालिका तीज परेकोले तालामाराङ बजारमा तीजको जात्रा लागेको रहेछ । महिला आमा दिदीबहिनीहरु रातो सारी लगाएर तीज गीतको तालमा छमछमी नाचिरहेका रहेछन । बजारै राताम्य थियो । त्यही भीडमा मेरो अबोध आँखा पनि केही समय अगाडि क्रान्तिकै दौरानमा हराएको कुनै आकृति फेला पर्छ कि भनेर यति छिटो दौडियो । तर कतै पनि कसैगरी पनि त्यो आकृति फेला पर्न सकेन र गुमनामै रह्यो । आँखाबाट ओझेलै परिरह्यो । फेला परी पो हाल्ला कि भन्ने आशा चाहिँ थियो । त्यतिबेला मलाई ” यस्तो पनि हुँदोरैछ जिन्दगीमा कहिले कहिले ! कसैलाई ……..” भन्ने फत्तेमान राजभण्डारीको वियोगान्त गीतको सम्झना आयो । क्रान्तिकारीहरु पनि कहिलेकाही भावुक हुने दिन आउँदोरहेछ । तर भावनामा डुबेर बस्ने छुट पटक्कै थिएन । समयले जोडतोडले घचघच्याईरहेको थियो । हामी त एउटा गम्भीर मिसनमा थियौं । योजनामा थियौं । त्यसपछि चौकीको रेक्की र एम्बुश गर्ने ठाउँको रेक्की सकेर हामी सेल्टरतिर फर्कियौं । एम्बुश पोईन्ट मेलम्ची बजार र तालामाराङ बजार बीचको भाग सिमखेतलाई छनौट गरेका थियौं ।

सेल्टरमा फर्किएपछि हामीले हतार हतार गरेर  खाना खायौं । घरको आमाले मीठो खाना खुवाईन । दही, दुध पनि खुवाईन । आमासँग बिदा भएपछि हामी प्राविधिक सामानहरु, माइन, राइफल बन्दुक बोकेर र आवस्यक सबै सामान बोकेर निस्कन लाग्यौं । जब सेल्टरबाट निस्केका थियौं तब पानी पर्न थाल्यो । उता तालामाराङ बजारमा रहेको खाली चौकी सेवोटेज गर्न क. सज्जन लगायत साथीहरू अलि अगाडि नै गईसकेका थिए । करिब रातको बाह्र बजेतिर एम्बुश पोईन्टमा पुग्यौं । एकनासले पानी परिरहेकै थियो । प्लास्टिक ओडेर माईन बिछ्याउन थाल्यौं । माईन बिछ्याउने ठाउँमा त पानी जमेर पोखरी भएको थियो । तैपनि माईनलाई प्लास्टिकले बेरेर बल्लतल्ल बिछ्यायौं । माईन बिछ्याउन त सजिलै भयो । तर तार लुकाउन सार्‍है गार्‍हो पर्‍यो । बल्लतल्ल तार पनि लुकायौं । बल्लतल्ल तार भूमिगत भएपछि आ-आफ्नो पोजिशनमा आएर बस्यौं । क. अशोक मेलम्चीपट्टीबाट आउने बाटो देख्ने  गरी अलि परै ओ.पि. बसे । मुख्य स्वीचमा मै एक्स्प्लोडर लिएर बसें । तीन वटा माईन एकैपटकमा पड्काउने योजना थियो । यदि अनुकूल भएमा हतियार पनि कब्जा गर्ने दुस्साहसिक योजना पनि बीचैमा बनाएका थियौं । चौकी सेबोटेज गर्न गएका साथीहरू पनि बिहानीपख घाम झुल्किनु भन्दा अगाडि नै आएर हामीसँगै जोडिईसकेका थिए ।

उज्यालो भएपछि रोडतिर एकतमासले आँखा बिछ्याईरह्यौं । दुश्मन कतिखेर आउँछ र आक्रमण गरौंला भन्ने प्रतीक्षामा रह्यौं । त्यतिबेलासम्म पनि सिमसिम पानी परिरहेकै थियो । ज्यान निथ्रुक्क भिजेको थियो । तर पनि हामीलाई केही प्रवाह थिएन । हामीले माईन गाडेको ठाउँमा त झन् भैंसी आहाल बस्ने जस्तो ठूलो पोखरी जमेको रहेछ । माईन पड्किने हो कि होइन भन्ने चिन्ताले सताउन थाल्यो । बिहानको आठ बजेतिर फेरि मेलम्ची बजारतिरबाट एउटा डोजर आयो र अग्लो ठाउँको माटो खन्दै रोडको खाल्डाखुल्डी पूर्न लाग्यो । झन्डै हाम्रो माइन पनि खोस्रेर निकालेन । माईन गाडेको छेउमै खन्यो ।मुटु सार्‍है ढुकढुक गरिरह्यो । तर हाम्रो माइन निकालेन । बल्ल ढुक्क भईयो । त्यो डोजर रोड सम्याउँदै अगाडितिरै गयो । हामी दुश्मन आउने प्रतीक्षामा रह्यौं । जब बिहानको साँढे एघार बज्न लागेको थियो । मेलम्ची बजारतिरबाट पुलिस आएको खबर लिएर क. अशोक आईपुगे । र उनी फेरि आफ्नै पोजिशनमा गए । हामी पनि हतार हतार तयारी हालतमा बस्यौं । मैले एक्स्प्लोडर पनि पूरा चार्ज गरेर राखें । क. अनिशलाई राइफल अलर्टमा राख्न लगाएँ । हेर्दा हेर्दा दुश्मनको एक्काईस जनाको फर्मेशन दूरी मिलाएर आयो । दूरी निकै टाढा टाढा मिलाएर आयो । सबैले राइफल बोकेर एलर्टकासाथ आए । तर पनि उनीहरू निर्धक्कै जस्तो देखिन्थे । किनकि त्यतातिर माओवादी त्यति शक्तिशाली छन भन्ने तिमीहरूले सोचेकै थिएनन् । जब दुश्मन हाम्रो एम्बुशको किलिङ रेन्जमा छिर्‍यो तब मैले एक्स्प्लोडरको स्वीच दबाएँ । स्वीच दबाउने बित्तिकै तीन वटा माईन एकैसाथ ठूलो आवाजमा पड्कियो । त्यत्तिकैमा क. अनिशले पनि राइफलबाट फायर गर्न लागे । क. अशोकले पनि ग्रिनेड हान्न लागे । त्यो खेत, पाखा नै बारुदको कालो धूवाँले कुहिरीमण्डल भयो । एकछिन त निकै सन्नाटा छायो । यसो हेर्दाखेरी एक जना पुलिस रोड मुनि लम्पसार परेछ । अरु दुई जना घाइते भएर रोडको कुनामा छट्पटाईरहे । अरुले फाट्टफुट्ट फायरिङ गर्न लागे । एक दुई जना पुलिस त अलि माथिसम्मै फायरिङ गर्दै फ्ल्यांक एट्याकमा आएँ । एम्बुश गर्दा पनि पुलिस फ्ल्यांक एट्याकमा आएको देखेर हाँसो पनि उठ्यो । क. सज्जन र क. अनिशले जवाफी फायर गर्दै हामी रिट्रीट भयौं । हामी खेतैखेत माथि माथि लाग्यौँ । घाँस काट्न आउने जनताहरुले के भएको ? भनेर सोधिरहेका थिए । हामीले भिडन्त परेको र नडराउनु भन्दै फेरि पहिले गएको बाटोतिरै फर्कंदै आयौँ । जे होस पार्टीले दिएको जिम्मेवारी पूरा गरेर उच्च मनोबल बनायौँ । र जिल्ला पार्टी हेडक्वार्टरको सम्पर्कमा आयौँ । सेक्रेटरी कमरेडले हामीलाई योजना सफल पारेकोमा धन्यवाद दिए ।

निचोड : सो एम्बुश गरेर दुश्मनको तीव्र दमनको प्रतिरोध गर्नु । त्यो ईलाकाका जनताहरुको मनोबल बढाउनु । जिल्लाको योजनामा भएको फौजी प्रतिरोध  सफल हुनु । हाम्रो फौजी क्षमता र अनुभवमा पनि एउटा ईंट्टा थपिनु । अहिले आएर सम्झंदा यस्तो लाग्छ  कि त्यो कमरेडली र सामूहिक भावना यति चाँडै कसरी धराशयी भयो होला ! नेताहरू यति चाँडै वर्गीय  मुद्दा छाडेर कसरी आफ्नो स्वार्थमा मात्र लिप्त भए होला ?

© डम्बर थामी ‘अनुपम’

 

तपाईको प्रतिक्रिया