कविता: प्रेमपान

प्रकाशित मिति :  380 पटक हेरिएको

तिमी धुवाँमार्ग हुँदै
कार्बोन मनोअक्साइड प्राणवायु लिएर
मेरो प्राणमा टारहरू छोडेर जान्छौ

म भित्र सञ्चारित रगतलाई
तिम्रो निकोटिनको आदत परेक छ अचेल
नशालु स्पर्श पाएपछि मात्रै खुल्छन ।

मुटुका धमनीहरू
हृदयको स्पन्दनले स्याक्सोफोनमा
रूमानी तरंगहरू सिर्जना गर्छ
यो मीठो खराब आदतमा
म आफुखुसी आत्मसमर्पण भइदिएँ ।

तिम्रो पवित्र आत्माको सामिप्यतामा
जब जब मेरो अधरमा फिल्टरबाट
तिम्रो प्रेमामृतपान गर्छु
प्रदिप्त भएर चम्किन्छौ तिमी

इश्वरको लागि बलेको
दियो जस्तै भएर
सिगरेट्को ज्वलन्ततामा
अतृप्त मेरो प्रेमपानले
हृदयको ऐस्ट्रेमा ठुलो पहाड बनाउँछ,

अनि म तिम्रो यादलाई
ताराहरू जस्तै गिन्ती गर्न खोज्छु
र अलमलिन्छु
जब, जूनमा देख्छु तिमी
धुवाँको मसीले हावाको कागजमा

तिम्रो चित्रकृती कोर्दछ
म एकोहोरो भएर हराउँछु
कुनै मोहिनीमय दुनियाँमा
र अनवरत खोजिरहन्छु धुवाँ धुवाँमा

सावधानीका अनेक निर्देशन पाउने गर्छु
तिमीलाई पिउँदै गर्दा चारैतिरबाट
भन्छन फोक्सोमा तिम्रो दाग बसिसकेको छ

अर्वुदले छिट्टै धुवाँ धुवाँ बनाउँछ

म मुस्कुराएर भन्ने गर्छु
जुन जीवनमा तिमी छैनौ
त्यो जीवन अर्वुद भन्दा प्राणघातक छ !!

© रिमा केसी

तपाईको प्रतिक्रिया