कविता: गर्नै हुन्न विरोध

प्रकाशित मिति :  465 पटक हेरिएको

साथीहरू !
लौ है ! सावधान हुनस् है !
विरोध गर्नु होला
नगर्नुस् है विरोध
नत्र वित्यास पर्ला नि !

अब हामी नेपाली पाल्न
विदेशी गुहार्नु पर्ने भएको छ
सरकारी मोजमस्तीका लागि
विदेशी ऋण चाहिएको छ
त्यसैले खबरदार
त्यसैले होसियार
विदेशी लगानी कर्ताको
विरोध गर्नु हुन्न नि !

हाम्रो परम्परा र संस्कृति बाँचे
संसारमा हाम्रो पहिचान हुने छ
हाम्रो सनातनी घर्म र आस्था हाँसे
हामीलाई नेपाली भनेर संसारमा चिनिने छ
विदेशी पैसाको खोलो बगे
त्यही हाम्रा आस्थाका धरोहर
गर्ल्याम गुर्लुम पार्न सजिलो हुने छ
त्यसैले खबरदार
त्यसैले होसियार
हामीले विदेशी लगानी कर्ताको विरोध गर्नै हुन्न ।

साथीहरू !
आउनु होस्
हामीले हाम्रो देशै नास्न
आउने विदेशीको
सबै मिलेर
विरोध नगरौँ है !
कहिल्यै गुलाम नभएको हाम्रो मुलुक गुलाम बनाउनैका लागि भए पनि
मोटो थैली दिने
हाम्रा विदेशी मित्रको
हार्दिक स्वागत गरौँ है !

कहिल्यै पराधिन नभएरै होला
आफ्नो माटोको माया गर्न
हामीले जानेनौँ
हामीलाई त जसरी भए पनि
हामीलाई त जहाँबाट भए पनि
पैसा, पैसा र पैसा भए पुगी गो नि
त्यसैले हामीलाई पराधिन पार्न आएको भए पनि
मुलुकको अर्थ बुझाउन कोसिस गर्ने
हाम्रो मोल तिर्न आउने
धनी र शक्तिशालि विदेशीको हामीले स्वागत गर्नै पर्छ है !

विरोध गर्नै हुन्न
निषेध त गर्नै हुन्न
आ ~~ भाडमा जाओस न देश न शेष !

नेपालमा बसेर राजनीति नगर्दा
नेता बन्न सकिँदैन
नेता नबने सरकारमा पुगिँदैन
सरकारभित्र नपसे खान पनि पुग्दैन
तर राजनीति गर्न हामीलाई आउँदैन
त्यसैले त डीभी पर्दा दङ्गै छौँ हामी
ग्रीनकार्ड र पिआर पाउँदा क्या मज्जा छ हामीलाई
गलामा माला पहिरिएर
व‌ैदेशिक रोजगारी जान्छौँ हामी
सरकार पाल्न रिमिट्यान्स पठाइदिन्छौ हामी
भलै डब्बामा बन्द भएरै फर्किन पनि सक्छौँ हामी
यहाँ बसेर पनि के गर्नु ?
आखिर यो देशमा छ नै के र यार ?

त्यसैले साथी हो !
जे गरे पनि
जसो गरे पनि
विदेशीको विरोध गर्नु हुन्न है !

कठै हाम्रो प्यारो सरकार पाल्ने विदेशी !
कठै हाम्रो गरिब देशका नेता धनी पार्ने विदेशी !

अहँ ~~ नगर्नु है विरोध
गर्नै हुन्न विरोध
साथी हो
खोरतिर जान त मन छैन नि !
फेरि अर्को दरबार हत्याकाण्ड मच्चाउन त मन छैन नि !
अथवा फेरि पनि मदनआश्रित झैँ सहिद बन्न त मन छैन नि !

साथी हो !
तपाईं सिसि क्यामेराको निगरानीमा हुनुहुन्छ !
तपाईँको आकाशमा हवाई गस्ती पनि हुनसक्छ !
ज्यान जोगाउनु छ कि छैन ?
त्यसैले विरोध त गर्नै हुन्न
गर्नु हुन्न है विरोध !

©इन्दिरा प्रसाई

तपाईको प्रतिक्रिया