काठमाडौँ । सिरि ए फुटबलमा इन्टर मिलानले बोलोग्नामाथि शानदार जित निकालेको छ ।
गएराति इडेन जिकोको दुई गोलको सहयोगमा इन्टरले बोलोग्नामाथि ६–१ को शानदार जित हासिल गरेको हो ।
इन्टरले नयाँ सिजन बोलोग्नाको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । लौराटो मार्टिनेजको गोलमा इन्टरले सुरुवाती अग्रता लिएको थियो । डेनजेल डम्फ्राइजको क्रसमा मार्टिनेजले इन्टरलाई अग्रता दिलाएका थिए ।
फेडेरिको डिमार्कोको कर्नरमा मिलान स्क्रिनियारले इन्टरको अग्रता दोब्बर बनाएका थिए । निकोलो बरेल्ला र माटियास भेसिनोले इन्टरलाई फराकिलो जिततर्फ अग्रसर बनाएका हुन् ।
इडेन जिकोले अन्तिम समयमा लगातार दुई गोल गर्दै इन्टरलाई ६–० को शानदार जितको संघारमा पुर्याएका थिए ।
आर्थर थियट्सले खेल सकिन ४ मिनेट अघि पाहुना टोलीका तर्फबाट एक गोल फर्काए ।
लिग विजेता इन्टर प्रशिक्षक एन्टोनियो कोेन्टे र मुख्य फरवार्ड रोमेलु लुकाकु विहिन छ । तर नयाँ प्रशिक्षक सिमोन इन्जागी नेतृत्वको टिम नयाँ सिजन सिरि एमा अपराजित छ ।
सिरि ए का पछिल्ला चार खेलमा इन्टरले १६ गोल गरेको छ ।