कविता: कसैले प्रमाणित गरिदेऊ !

प्रकाशित मिति :  146 पटक हेरिएको

कसैले प्रमाणित गरिदेऊ
अब शासकहरू
फूलको गुच्छा बोकेर शासन गर्छन्
म पनि गुलाबको फूल बोकेर
गुलाबी क्रान्ति गर्न तयार छु !

कसैले जिम्मा लेऊ
अब शासकहरू
विश्वका सारा हतियारहरू
समुद्रमा फाल्न तयार छन्
म पनि तयार हुने छु भन्न
बन्दूकको नालबाट मात्रै सत्ता जन्मदैन !

प्रमाणित गरेर देखाइदेऊ कसैले
अब शासकहरूसँग
एक जना पनि सेना छैन
एउटा पनि बन्दूक छैन
एउटा पनि जेल छैन
मिशायलहरू/ फाइटर जहाजहरू
ड्रोनहरू/ आणविक भट्टीहरू
अब कथा भैसके
कसैले यस्तो प्रमाणित गर्न सक्छ भने
म पनि निर्धक्क भनिदिने छु-
जसले बन्दूक बोक्ने कुरा गर्छ,
ऊ आतङ्ककारी हो !

कसैले प्रमाणित गर्छ भने
संसारमा
हतियार कारखानाहरू बन्द भैसके
हतियारको ब्यापार शून्यमा झरेको छ
हतियार बोक्ने सेनाहरू बिघटन गरेर
शासकहरूले फूल रोप्न पठाए सबैलाई
यदि यस्तो कसैले प्रमाणित गर्छ भने
आजको मितिबाट
संसारको कुनै पनि नागरिक
शासको गोलीबाट मर्ने छैन
यदि यस्तो घोषणा हुन्छ भने
म पनि घोषणा गरिदिने छु-
अब क्रान्तिको घोषणापत्रबाट
वल प्रयोगलाई झिकिने छ !

तर तर तर
लोड गरिएको बन्दूकको
ट्रिगरमा औंला राखेर
मेरो कञ्चटमा ताकिरहेको सिपाही अगाडि
तिमी मलाई भन्छौ-
सबै कुरा गर
तर बन्दूकको कुरा नगर
सबै कुरा गर
तर वल प्रयोगको कुरा नगर
सबै कुरा गर
तर क्रान्तिको कुरा नगर
सबै कुरा गर
तर विद्रोहको कुरा नगर
शासक महोदय !
मैले जे कुरा गर्नै पर्ने छ
त्यही त्यही नगर भनेपछि
म कसरी मान्न सक्छु ?

तिमी एक दिन
बन्दूक विना वाँचेर देखाऊ पैला
तिमी एक दिन युध्द विना वाँचेर देखाऊ पैला
तिमी प्रमाणित गरेर देखाऊ
अब बन्दूक बोक्ने छैनौँ
मैले त
असाध्यै जरुरीमा बाहेक
बन्दूक बोक्ने कुरै गरेको छैन !

© बलराम तिमल्सिना

तपाईको प्रतिक्रिया