‘मातृभाषा कविता प्रतियोगिता २०७८’ को एक समिक्षात्मक संक्षिप्त चर्चा

प्रकाशित मिति :  771 पटक हेरिएको

मातृभाषाको एक टुक्का कविता :
‘निथेको खाम फिल्तोले हाबी सेत्चिको माइदु,
निथेको वाखे याहान्न्या ताम्सा लिबी बे थाइदु ।’
– आफ्नै डायरीबाट

साहित्य भनेको समाजको दर्पण हो । समाजमा भएका सकारात्मक या नकारात्मक पाटापक्षको उजागर साहित्यले गर्छ । र ‘तमसोमा ज्योतिर्गमय’ भने झैँ समाजलाई अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउने काम गर्छ । अलि भिन्न प्रसंगमा साहित्य राजनीति हो । राजनीति साहित्य पनि हो । त्यसैले साहित्यको दायरा निकै फराकिलो छ । साहित्यमा विषयवस्तुको हिसाबले हेर्ने हो भने भक्ति, रति, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, आदिदेखि देशमा चलेका आन्दोलन, द्वन्द आदि विषयमा साहित्य लेखिएका छन् । जीवन र जगतको अवलोकन, निरीक्षण, त्यसप्रतिको अवधारणा समय सापेक्ष भएर आईरहेका छन्। र अभिव्यक्ति, अभिव्यन्जना, उपमान-उपमेय, विम्ब, प्रतीक आदिको प्रयोग साहित्यमा हुन्छ । यिनै मानक तत्वहरु नेपाली साहित्य र विभिन्न जात जातिका मातृभाषाका साहित्यमा पनि सुन्दर ढङ्गले अभिव्यक्त भएका छन्। मुख्यतः मातृभाषाको साहित्य लेखनले विभिन्न जात, जाति, धर्म र सम्प्रदायको वास्तविक कुरा अभिव्यक्त भएका हुन्छन् । संसारमा साहित्यको दायरा धेरैँ भन्दा धेरैँ फराकिलो छ । साहित्यका अनेकौं विधाहरु पनि छन् । ती विधाहरु मध्ये कविता विधा पनि एक अब्बल र लोकप्रिय विधा हो । कविता विधाको बारेमा केही संक्षिप्त चर्चा गर्न गईरहेको छु ।

कविता भनेको ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कविद्वारा रचित वा कविको कर्म भन्ने गहन अर्थ वहन गर्दछ । कविको सशक्त भावाव्यक्ति नै कविता हो । मानव समाज र सभ्यताको आरम्भदेखि नै कविता विधाको जन्म र विकास हुँदै आएको हो । पूर्वमा आचर्य, जगन्नाथ, भामह जस्ता विद्वान र पश्चिममा एरिस्टोटलदेखि रिचर्डस जस्ता कविहरु जन्मेका थिए । पूर्वी साहित्य जगतमा ऋग्वेद, महाभारत, रामायण र पश्चिमी साहित्य जगतमा ईलियड र ओडिसी जस्ता ठूला-ठूला ग्रन्थहरु कवितामै लेखिएका थिए । कविताका केही परिभाषाहरु यसप्रकार रहेका छन् ।

. शब्द र अर्थले संयुक्त रुप काव्य हो ।     -भामह 

२. बाङ्गो र घुमाउरो ढङ्गबाट व्यक्त भएको उक्ति नै 

     काव्य हो ।                                   – कुन्तक 

३. अनुभूतिको स्वतस्फूर्त अभिव्यक्ती नै कविता हो ।

                                                      – वर्डस्वर्थ 

४. कल्पना र संवेगद्वारा गरिने जीवनको व्याख्या नै 

     काव्य हो ।                                     – हड्सन 

५. रमणीय अर्थ प्रदान गर्ने शब्द नै काव्य हो ।

                                                        – जगन्नाथ 

६. भावनाको बौद्धिक कोमलता कविता हो ।

                                                – बालकृष्ण सम

कविताका तत्वहरु यसप्रकार छन् : 

(क) भावविचार : भावविचार कविताको मूल वस्तु हो । भावविचार बिना कविता बन्न नसक्ने हुँदा यो कविताको मुख्य तत्व हो । प्रत्येक शब्द शक्तिमा गहन भाव आउन जरुरी छ । प्रतिकात्मक अर्थमा कुन विचार प्रवाह गरेको छ भन्ने कुरा पनि दर्शाउने काम गर्छ । त्यसैले भावविचार कविताको मेरुदण्ड हो ।

(ख) शिर्षक : शीर्षकले कुनै पनि समग्र रचनाको प्रतिनिधित्व गरेको हुन्छ । यो संक्षिप्त र प्रतिकात्मक हुन्छ तर यसको संगति भने मिल्नुपर्छ । शीर्षकले कविता कस्तो छ ? भन्ने जानकारी गराउँछ ।

(ग) लयात्मकता : लय कविताको महत्त्वपूर्ण तत्व हो । लय भनेको उच्चारणको क्रममा उत्पन्न हुने सांगीतिक स्वर हो । छन्द कवितामा लय, पाउ, अनुप्रास र गेयात्मकताको जरुरी हुन्छ ।

(घ) भाषाशैली : भाषा विचार आदानप्रदानको सशक्त माध्यम हो भने शैली अभिव्यक्तिको एक प्रकार हो । अभिव्यक्त गर्ने शैली आ-आफ्नै हुन्छ । भावाव्यक्तिको क्रममा भाषाशैलीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसले सोझो भन्दा बक्रोक्ति र बक्र अभिव्यक्तिलाई प्राथमिकता दिन्छ । जसमा बिम्ब, अलङ्कार, प्रतीक आदि व्यक्त हुन्छ ।

(च) दृष्टिविन्दु : दृष्टिविन्दु कविताको अभिव्यक्तिको प्रक्रिया हो । कविले कविता पाठकसामु पुर्‍याउन कुन रूपमा गरेको छ ? कसको वर्णन गरेको छ ? भन्ने आधारमा दृष्टिविन्दु निर्धारित हुन्छ । प्रथम पुरुष दृष्टिविन्दु उपयोग गरेको कवितामा म, हामी तथा तृतीय पुरुष दृष्टिविन्दु प्रयुक्त कवितामा उ, त्यो, उनी, तिनी आदि सर्वनाम प्रयोग गरिएको हुन्छ ।

उक्त तत्वहरुलाई आधार मानेर पूर्ण कविता लेख्न सकिन्छ ।

हाम्रो नेपालमा पनि विभिन्न जातजातिका मातृभाषामा विभिन्न विधाहरु लेखिएकाछन । जुन भाषाबाट धेरै भन्दा धेरै साहित्यिक विधाहरु सृजना भएकाछन त्यही भाषा नै इतिहासमा स्थापित हुँदै गएकाछन । हाम्रो नेपालमा नेपाल भाषा र मैथिली भाषा साहित्यको क्षेत्रमा धेरै धनी छ । यी भाषामा धेरै साहित्य सृजनाहरु भएकाछन । त्यसैले हामीले पनि आफ्नो मातृभाषा (थामी भाषा), संस्कार, संस्कृति, पहिचानको संरक्षण सम्बर्द्धन गर्नको लागि एक महिने ‘मातृभाषा कविता प्रतियोगिता २०७८’ आयोजना गरेका थियौँ । सो कविता प्रतियोगिताको बारेमा केही संक्षिप्त समालोचना गर्न गइरहेको छु ।

आजको दिनसम्म  ‘ थामी भाषाको शब्दकोष, निको वाखे खाम, नान नि पाटुको, देवा पुडासा ठोत्सा ‘ लागायत केही फूटकार कीर्तिहरु प्रकाशित भएक छन् । तर यी विधाहरु अति सानो पैमानामा छापामा आएका छन् । तर गतिलो साहित्यिक कीर्तिहरु छापामा आउन सकेका छैनन् । यस्ता साहित्यिक कीर्तिहरु क्रमशः छापामा आए मात्र भावी पुस्ताले पनि हाम्रो पनि मातृभाषा र साहित्य रहेछ है भन्ने बोध गर्न सक्ने छन् । नभए हाम्रो भाषा साहित्य त्यत्तिकै लोप हुँदै जाने । पुस्तान्तरण हुँदै नजाने खतरा देखिएको छ । भर्खरै मात्र नेपाल थामी समाज दोलखाले ‘ नानको आथाङ उलाम’ भन्ने पुस्तक प्रकाशनमा ल्याएको छ । तर हाम्रो मातृभाषाको साहित्यिक गतिविधि भने कमै छ । केही मातृभाषी लेखकहरुले कविता र गजल लेखनमा निकै चासो देखाएका छन् । यो खुसीको कुरा हो । तर यतिले मात्र पुग्ने अवस्था छैन । केही मातृभाषाका गीतहरु पनि संगीतबद्ध भएकाछन । यो पनि खुसीको कुरा हो । तर यति प्रयत्नले मात्रै पुग्दैन । सबै मातृभाषी श्रस्टाहरु लाग्नुपर्ने देखिन्छ । पूरानो पुस्ताका हस्तीहरु सिलोके-पालोकेको खोज अनुसन्धानमा लागेका छन्। यसलाई अझै पनि मूर्त रुप दिन सकेका छैनन् । नयाँ पुस्ताले अझै जोड गरेर लघुकथा, कविता, मुक्तक, संस्मरण, गजल आदिलाई विशेष प्राथमिकता दिएको पाईन्छ । यो सुखद कुरा हो । ठोस रुपमा भन्नुपर्दा थामी भाषाको साहित्यलाई उठाउनको लागि नै मातृभाषा अनलाइन कविता प्रतियोगिता आयोजना गरिएको थियो । यो कविता प्रतियोगितामा दुई गजलसहित नौ वटा कविताहरु प्राप्त भएका थिए ।

यो कविता प्रतियोगिताको तीन जना ( हिरा थामी, अन्जिला थामी र म ) को निर्णायक मण्डल गठन गरिएको थियो । प्रतियोगिताको आयोजना थामी युथ मासले गरेको थियो । यसमा मदन थामीले विशेष भूमिका निर्वाह गरेका थिए भने जापान बस्ने टेक थामीले अहोरात्र खटेर सहजीकरण गरेका थिए । र प्रचारप्रसार थामी समुदायका वरिष्ठ पत्रकार एवं बुद्धिजीवी टेकराज थामीले गरेका थिए । यसमा नेपाल थामी समाजका महासचिव लक्ष्मण थामीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो मातृभाषा कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेकी थिईन : अरुणा थामी (दोलखा), दोस्रो स्थान प्राप्त गरेकी थिईन लीला थामी (सिन्धुली), तेस्रो स्थान प्राप्त गरेका थिए मंगले थामी (रामेछाप) र रोहित थामी (दोलखा), चौथो स्थान प्राप्त गरेकी थिइन मनिषा थामी (दोलखा) र लीलावती थामी (दोलखा) । र प्रतियोगितामा सहभागी कविहरु पदमराज थामी, हिसिला थामी, जीत थामी र बाबुकाजी थामीको पनि निकै राम्रा कविताहरु प्राप्त भएका थिए । दीपक थामी र अमल थामीको गजल पनि प्राप्त भएका थिए । यो कविता प्रतियोगिताले साहित्यको क्षेत्रमा एउटा ईंटा थप्ने काम गरेको छ । मैले यहाँ ती प्रतियोगी कविताहरुको बारेमा केही टिप्पणी गर्न गईरहेको छु ।

प्रथम स्थान प्राप्त गर्न सफल कवि अरुणा थामीद्वारा लेखिएको कविताको शीर्षक थियो : ” मालो हेन्छा माजा” (बिर्सी जानु हुँदैन) । यो कवितामा कविले आफ्नो पूर्खाले छोएर-छोडेर गएको माटो, भाषा, कला र संस्कृतिलाई बिर्सनु हुँदैन । र अझ थप विकास र विस्तार पनि गर्दै जानुपर्छ भनेर जोड दिँदै भनेकीछन :

टाहेको चालाउनी उनिसेको उनी 

           होनी तोको माइदु

           मालो हेन्छा माजा पूर्खाए थिहुदु 

           नासापाली 

           मालो हेन्छा माजा ज्यूज्यू च्याप्ज्यूए 

           पिईदु निको पालाखेपाली 

यो कवितामा ऐतिहासिक मीथ, सुन्दर बिम्ब र प्रतीकको प्रयोग गरिएको आभाष हुन्छ । भाषाशैली सरल छ ।

द्वितीय स्थान प्राप्त गर्न सफल कवि लीला थामीद्वारा लिखित कविताको शीर्षक थियो : ” लिबीवासा योहुन्दु बेरेङ ” (इतिहासलाई फर्केर हेर्दा) यो कवितामा कविले आफ्नो जातिको उत्पत्ति र विकासको सन्दर्भमा सरल शब्दमा गेयात्मक शैलीमा यसरी प्रस्तुत गरेकी छन् :

चिमोसाकाई नाङ निए संस्कार ङा खामपाली

पिको माइदु उपहारस्वरुप नाका मिकाई का

पुर्तुङ्गापाली

राङराङ्थाली मास्खाराङ्ङा होदु रेसो थापुपाली

पूर्खाए जुकेङ्दु थोन्साकाई गिठा ङा भ्याकुरपाली

ह्याते ह्याते यालेतिन मालो यईन खामपाली

चिमोतोले नाको माइदु संस्कार ङा संस्कृति सै

बानपाली

यो कवितामा पनि ऐतिहासिक मीथ सुन्दर बिम्ब, लय र प्रतीकको प्रयोग गरिएको छ । र यो कविताको रसस्वादन मीठो छ ।

तृतीय स्थान प्राप्त गर्न सफल कवि रोहित थामीद्वारा लिखित कविताको शीर्षक थियो : ” दाङ्सा हेन्को माइदु ” (खोज्दै जानुपर्छ) । आफ्नो संस्कार सँस्कृतिको खोज्दै जानुपर्ने र जोगाईराख्ने कुरामा कविले जोड दिएका छन् । र कविता विशुद्ध थामी भाषामा लेख्ने सुन्दर प्रयास गरेका छन् ।

बछिन्टेनाई ईखेसिदु नेमदेवाको गोङ्गरपोन्डु 

          च्युर्कुनदेवा वाखेसिसा 

          कापिचुलीङाई होक्योङ्दु 

         मेमेजाङ्मो होङ्साङ्दाक्पा नामे 

         लोङ्ते सोख्योप्योङ्दु 

         दोङराडेङी साङराडेका धुपे साङ्चा 

         हेन्को माइदु 

         निथेको मि ईचिनिश्ते दाङ्चा 

         दाङ्चा हेन्को माइदु 

यो कविता ठेट थामी भाषा प्रयोग गरिएको छ । र सिलोके पालोकेमा आउने कैरणको शैलीमा यो कविता लेखिएको छ । थामी भाषाका बान्किला शब्दहरु : गोंगरपोण्डु, मेमेजाङ्मो, होङ्साङ्दाक्पा, सोख्योप्योङ्दु जस्ता सुन्दर, बिम्ब, प्रतीक र अलङ्कारहरुले कवितालाई सुन्दर र सशक्त बनाईएको छ ।

तृतीय स्थान नै प्राप्त गर्न सफल मंगले कवि  थामीद्वारा रचित अर्को कविताको शीर्षक थियो : ” नान नि चावाको ” (अब हामी हिंडौं) । यो कवितामा  पनि सरल भाषा प्रयोग गरिएको छ । र आफ्नो भाषा, सँस्कृति बचाउनको लागि नयाँ बाटो खन्दै हिंड्न जोडदार आह्वान गरिएको छ ।

दाङ्को मेताङ आथाङ्को उखिङगाङ 

        स्रेको नानबे चावाको आथाङगाङ 

        चावाको उलाम स्रेको है बानपाली 

        फात्को उलाम हेन्को है साख्खाली 

यो कवितामा अँध्यारोलाई चिर्नको लागि दियालो बन्नुपर्छ र नयाँ, उज्यालो बाटो हिँड्नको लागि नयाँ गोरेटो खन्दै अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएका छन् । र दियालोको सुन्दर बिम्ब पनि प्रयोग गरेका छन् ।

चौथो स्थान वा सान्त्वना स्थान प्राप्त गर्न सफल अर्को कविता हो कवि मनिषा थामीको ” इतिहास ”  शीर्षकको कविता । यो कवितामा पनि कविले आफ्नो इतिहास बचाउनु पर्ने कुरामा विषेश जोड दिएकी छन् । कविता यसरी प्रस्तुत गरेकी छन् :

खेमुनुङ निको सँस्कृतिको वृत्तान्त 

           थाताले यस्तो कविता 

           नान जुक्सा होदु 

           दिगोरे इतिहास 

           गाइको पुस्ताको निमित्तङा 

           ईन्या गुरी चासो होदु 

           पूर्खापाली तिरिक्सियङ्दु छारोपाली 

कविले अब आउने नयाँ नयाँ पुस्ताको लागि केही गरेर देखाउनु पर्ने कुराको सशक्त ढंगले आवाज उठाएकी छन् । पूर्खाले छाडेर गएको नासोलाई जगेर्ना गर्नुपर्ने सुन्दर बिम्ब पनि प्रयोग गरेकीछन् ।

चौथो स्थान वा सान्त्वना स्थान नै प्राप्त गर्न सफल अर्को कविता थियो कवि लीलावती थामीको “शिक्षा” शीर्षकको कविता । ‘ दीपम् अन्धकारम् नाशयति ‘ । बत्तीले अन्धकारको नाश गर्छ भने झैँ शिक्षा नभई हामी पछाडि पर्ने भएकोले शिक्षा लिनुपर्ने कुरामा विशेष जोड दिएकी छन् ।

आप्रा ठेसाकाई उछि उनी

          आथाङ थाताले 

          लोङ्सेको उखिङ चिताम्तोले 

          स्वाभिमानी ङा स्वाबलम्बी 

         लोङिदु का शिक्षाए 

शिक्षाले गाउँ समाजमा रहेका अन्धकार हटाएर उज्यालो बाटो देखाउने काम शिक्षाले गर्छ । कवितामा  शिक्षा आकाशमा चम्किने चम्किलो तारा झैं हुन्छ भनेर सुन्दर बिम्ब प्रयोग गरेकी छन् । र शिक्षाले मान्छेलाई स्वाबलम्बी पनि बनाउँछ भन्ने कुरामा जोड दिएकी छन् ।

यस कविता प्रतियोगितामा सहभागी कवि पदमराज थामीको ” विखण्डन ” शीर्षकको कविता ” पनि फुट्नु हुँदैन, जुट्नुपर्छ ! ” भन्ने भावाव्यक्ति पोखिएको कविता हो ।

याङ मिर्‍याङ नासाईवादु

          निथे निथेङा किडिताले 

          उस्तेबाङ्को स्वार्थको लागि 

         बुबु हुङा आहे आहे झुन्ड थायङ्दु 

         खोइ ? आश्वासन पिईदुपाली 

         नाका बछिन्टे केल्वादु ईसियङ्दुपाली 

यसरी कविले ” भाइ फूटे गवाँर लुटे ” भने झैं फुट्नुहुन्न ! जुट्नुपर्छ भन्ने सन्देश दिएकाछन । र नयाँ बिहानी ल्याउँछु भन्नेहरू कता हराए ? भन्ने तीखो व्यंग पनि प्रहार गरेका छन् । यो कविता सरल शैलीमा गहिरो भाव आउने गरि लेखिएको छ ।

प्रतियोगितामा सहभागी अर्का कवि जीत हार्बा थामीले ” पहिचान र अधिकार ” शीर्षकको कविता सशक्त ढंगले प्रस्तुत गरेका थिए ।

आमिईताले माहोक्को नान सेरेक्को नेपाल सारा 
     स्कुल ठोको पढईको हुचापाली रासाकाई अधिकार 

      यापती छुकु सुनारी आजी यही थादु निको शान 
     भांग्रा चुरुक्तोले बुसिईदु यही थादु निथेको पहिचान 

यसरी कविले आफ्नो पूर्खा र इतिहासको उजागर गर्दै सरल ढंगले कविता प्रस्तुत गरेका छन्। उनी आफ्नो पूर्खा र माटोप्रति निकै लालायित छन् ।

प्रतियोगितामा सहभागी अर्का कवि हुन् हिसिला  थामी । उनले ” निथेको खाम चिमोको ” (आफ्नो भाषा बचाउँ) भन्ने शीर्षकको कविता प्रस्तुत गरेकी थिईन् ।

निथेको खाम ङा सँस्कृति चिमोको नि 

          साकाले थाङ्मी मिलाईते 

          नान बे नि दि थाको नि 

          साकाले साकाले सेरेक्ताले 

कविले आफ्नो भाषा, संस्कार र संस्कृतिलाई बचाउन सबै मिलेर लाग्नुपर्छ भन्ने सन्देश कविता मार्फत दिएकी छन् । यो कविता सरल भाषामा लेखिएको छ ।

प्रतियोगितामा सहभागी अर्का कवि हुन : बाबुकाजी थामी । कविले ” नि थाङ्मीको पहिचान” शीर्षकको कविता प्रस्तुत गरेका थिए । कविता यस्तो थियो ।

का भूमिकाई ठोत लोङ्सा दिगोरे जाति थामी 

          यापती छुकु सुनारी आजीको सन्तान नि ! 

          नि थाङ्मीको पहिचान निए चिताम्सा मापिको 

          निको पहिचान चिमोसा नि साखाली थाङ्मी 

दि थाको

कविले प्रकृतिपूजक थामी जातिले आफ्नो भाषा, संस्कार, संस्कृति बचाउन आफैं अग्रसर भएर लाग्नु पर्ने कुरामा कविता मार्फत जोड दिएका छन् । सरल भाषामा लेखिएको यो कविता गेयात्मक शैलीमा लेखिएको छ ।

यसरी यो कविता प्रतियोगिता अवसर र चुनौतीको बीचबाट सप्पन्न भयो । सोचे जति कविहरुको सहभागिता भएन । तर कविताहरु कोही उत्कृष्ट र कोही मझौला खालका आए । थामी भाषा, साहित्यको क्षेत्रमा यसले एउटा ईंटा थप्ने काम गर्‍यो । सहभागी भए जति कविहरुको उत्साह राम्रो भए पनि लेखनको क्रममा केही कमीकमजोरी अवस्य नै रहे । कविता लेखनमा मुख्य कुरा मौलिकता, कलात्मकता, बिम्ब र प्रतीकको प्रयोग गर्ने कुरामा अलि कमै रह्यो । र कविता लेखनको भरपूर ज्ञान हुनुपर्ने र कविताहरु अझै माझिएर आउँदा आगामी दिनहरू सुखद हुनेछन् । बाटो कठिन छ, साहित्यिक भविष्य उज्ज्वल छ । आगामी दिनहरूमा पनि समय मिलेसम्म अन्य विधाहरुको पनि प्रतियोगिता निरन्तर रूपमा गर्दै जाने लक्ष्य लिएका छौँ । सेवा !!!

© डम्बर थामी ‘अनुपम’

 

तपाईको प्रतिक्रिया