मकवानपुर । मकवानपुरमा बुलेट ग्याँस ट्यांकीबाट ग्याँस चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँ बस्तीका होटल संचालक ४३ वर्षीय भरत कार्की , ग्याँस बोक्ने गाडी एनएल ०१ एन ०१३१ का चालक चुनु कुमार र युपि ७० बिटि ९९९६ का चालक विपिन कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
मंगलबार साँझ होटल संचालक कार्कीले ग्याँस ट्यांकी चालकहरु संग समन्वय गरि बुलेट ग्याँस ट्यांकीबाट ग्याँस सिलिन्डरमा ग्याँस भरी गाउँ घरमा बेच्ने गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले होटल संचालक कार्कीको होटलबाट विभिन्न कम्पनीका खाली सिलिन्डर १८ थान र भरेको सिलिन्डर १३ थान गरि जम्मा ३१ थान सिलिन्डर बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।