जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्वतह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् ।
आइतबार जनकपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाएका हुन् । केही जिल्लाको अधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाइ थियो ।
पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको भन्दै सिंहले अब कुनै हालतमा पनि मिति सार्न नदिने बताए । तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा उनको जोड थियो ।
आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे ।