मकवानपुर । मकवानपुरको भिमफेदी – कुलेखानी सडकखण्ड आज कात्तिक १३ गतेदेखि तीन दिन बन्द हुने भएको छ ।
मकवानपुरको हेटौंडाबाट भिमफेदी हुँदै काठमाडौ तर्फ जाने छोटो दुरीको कुलेखानी सडक खण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पुर्वाधार निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका निमित्त निर्देशक डाक्टर सहदेव भण्डारीले एक सूचना जारी गर्दै भिमफेदी – कुलेखानी सडक खण्डमा आज कात्तिक १३ गतेदेखि कात्तिक १५ गतेसम्म दैनिक तीन दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन अवरुद्ध हुने जानकारी दिएको हो।
जुरिखेत देखि चिसापानी गढी बिचको एघार घुम्ति क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट, कङ्क्रीट पेभमेन्ट कार्य सुरु हुने भएकोले दैनिक तीन दिन चार घण्टा सबै प्रकारका सवारीसाधनमा रोक लगाइने भएको छ ।