बाल सचेतना केन्द्र नेपाल र मानव स्वास्थ्य सतर्कता अभियानद्धारा राहत वितरण

प्रकाशित मिति :  954 पटक हेरिएको

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण सृजित खाद्यसंकटको अवस्थामा बाल सचेतना केन्द्र नेपाल र मानव स्वास्थ्य सतर्कता अभियानले संयुक्त राहत संकलन तथा वितरण गर्दै आएको छ ।

अविरल भेट फर्मा एण्ड डग पेटसप, बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष राजकुमार लामा, नेको इन्सुरेन्स परिवार, श्री कृष्ण बखती,पवन अग्रवाल,डा. सुन्दरमणी दिक्षीत,अमृत कार्की,शुसीला अधिकारी, मुकुन्द श्रेष्ठ,मुकुन्द इन्दिरा घिमिरे, सुमिता राजवंशी लगायत विभिन्न सहयोगीदाताहरुबाट संयुक्त रुपमा राहत स्वरुप खाद्य सामाग्री संकलन गरि अभियान मार्फत हालसम्म करिव ५ सय परिवार र १७ बालगृहलाई वितरण गरिएको हो ।

एभिन्युज टेलिभिजनका कोरोना कहर कार्यक्रमका प्रस्तोता सुसिल पाण्डे र समाजसेवि बुद्धिमान लिम्बुको पहलमा उक्त सामाग्री संकलन भएको हो ।

राहत सामाग्रीमा चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री रहेका छन् । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बसोबास गर्दै आएका दैनिक आयआर्जन गरी जीवनयापन गर्ने अति विपन्न,असाहय र मजदुरवर्गका परिवारहरुलाई राहत सामग्री वितरण गरिएको हो ।

सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो । तर उक्त राहत सामाग्री वास्तविक पिडितसामू नपुगेको गुनासो चौतर्फी आईरहेको छ ।

यसैलाई मध्यनजर गरेर बाल सचेतना केन्द्र नेपालले ८० परिवार र मानव स्वास्थ्य सतर्कता अभियानले ४५ परिवारलाई संस्थागत खर्चबाट राहत उपलब्ध गरेको छ । साथै मानव स्वास्थ्य सतर्कता अभियानले दैनिक औषधि खाने व्यक्तिहरुलाई ५५ हजारको औषधी पनि वितरण गरेको छ ।

अझैपनि यस अभियानमा अपाङ्ग र दृष्टीविहिन ४० परिवार तथा दैनिक ज्यालामजदुरी गरी गुजारा चलाउने करिव २ सय ३० परिवारले खाद्यान्न माग गरिरहेकाले सहयोग गर्न चाहनुहुने सहयोगी दाताहरुले ९८५११२२५१६, ९८४३०१५१११ मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

तपाईको प्रतिक्रिया