अप्सरा सुनारको कविता: मान्छे बिरुद्धका मान्छे

  अस्मिता स्मृति प्रकाशित मिति :  1217 पटक हेरिएको

ए मान्छे तिम्रा मान्छेबाटै तिम्रो ध्वंस लिला रचिदैछ।
प्रेम श्रृङखलाले बनाएको जन्जिरभित्र कति आफूलाई उपहास बनाउछौ ।
नगर प्रेम ! प्रेमको बिरुद्धमा छ पुष्पहरु,
फूलले तिम्रो चुम्बन सहन्छे, छुवाइ अनि यौवनको माधुर्यमा भुलाउछे आफैलाई
तर टिप्न नखोज ए मान्छे
तिम्रा शरीर छिया पारिदिन्छन् अनि मारिदिन्छन् फूलले नै
किनकि यो मान्छे बिरुद्धका फुलहरुको समय हो ।

ए मान्छे! यो मान्छे बिरुद्धको युग हो ।
अब छाडिदेउ घन ठोकी खुकुरी बनाउन ।
किन सिलाउछौ लुगा?
भो पर्दैन जुत्ता बनाउन,
तिम्रो खुकुरीले तिम्रै प्रेमको गला रेटिन्छ ।
तिम्रो लुगा लगाएर तिम्रो छाला च्यात्न पल्केको छ, तिम्रो समाज अनि तिम्रा मान्छे ।
तिमी मान्छे भित्र मानवता नखोज,
यहाँ मान्छे बिरुद्धका मान्छे भेटिन्छन् ।

तिम्रो क्रान्तिकारी युगले जन्माएको ,
तिम्रा दलित शब्दले तिमी झनझन् थिचिएका छौ, कुल्चिएका छौ,अँचेटिएका छौ ।
विन्ती मारिदेउ दलित शब्दलाई अब ।
फ्याकिदेउ अब तिम्रा पञ्चैवाजाहरु,
भत्काइदेउ तिम्रा आरनहरु,
भाचिदेउ सियो अनि चुडालिदेउ धागो ।
भोलि फेरि दलित भनिएकै कारण
हजारौं प्रेमीहरुले प्रेमको खातिर आफुलाई बलि चढाउन नपरोस्।
राक्षसहरुको शिविर भत्काउनु अघि,
मारिदेउ तिम्रो अस्तित्व अनि जन्माउ मानवीय छुट्टै क्रान्ति ,
तिम्रा सन्तानलाई फेरि यहीँ शब्द नसुम्पनु
मित्र यहाँ मान्छे बिरुद्धका मान्छे भेटिन्छन् ।

लेखक: अप्सरा सुनार
थाक्रे-१०, केवलपुर , धादिङ

तपाईको प्रतिक्रिया