रचना मोक्तानको कविता: “नासोमा हाँसो”

  अस्मिता स्मृति प्रकाशित मिति :  848 पटक हेरिएको

मलाई दोस्रो दर्जाको नागरिक सम्झेपछि
श्रम अनुसारको पारिश्रमिक नदिएपछि
आकाशे सिँचाइको भरमा
कृषिमा उब्जाउ गर्न नसकेपछि
श्रम अनुसारको दाम पाउने आशामा
स्वदेशी तथा विदेशी दलालको मीठो भाषामा
बेचिन तयार भएकै हुँ पराइ भूमिमा ।

अभाव र समस्याको
सिंगै पहाडले थिचेपछि
कुरीतिका माखेसाङ्लाहरूले
मनको सिमाना मिचेपछि
लालाबालाहरूको अबोध ओठहरूमा
अलिकति मुस्कान ल्याउन
असंख्य पीडाका सिंढीहरू उक्लंदै
दूर-सुदूर क्षितिजहरू नाप्दै
धमिलो हृदयमा अमिलो मिसाएर
सिंगै देश बोकेर उडेको जहाजमा
म पनि उडेको हुँ एकतमासले
पुगेको हुँ बिरानो शहरमा
जिउँदै आगो लगाईएका
आला घाउहरू जस्तै
पिल्सिएर आएको हुँ
असंख्य पीडादायिक कहरमा ।।

के दिन ? के रात केहीको पर्वाह नगरी
मानव रोबर्ट जस्तै
खटिएको हुँ मालिकको सेवामा
मालिकलाई खुशी पार्न
हरदम नारकीय जीवन गुजार्दा
लाचार जिन्दगीमाथि
फेरि अर्को गह्रुंगो पहाड खसेपछि
पीडा, आँसु र वेदनाको
त्रिवेणीमा डुबुल्की मार्दै
बोकेर आएको हुँ
नारकीय जिन्दगीको नासो
बाध्यताको, पीडाको
अनि वेदनाको नासोलाई
प्रिय ! आत्मीय जिन्दगीहरू !
हिजो छोरीचेलीको कमाई भित्राउनेले
छोरीचेलीको बाध्यता र विवशतालाई
आज किन भित्राउन नसक्ने ??
इज्जत झ्वाम भयो लाग्छ भने
भान्छामा चुलोलाई सोध्नुस
अब तँ कति दिन बल्छस???

त्यसैले प्रियजनहरु आत्मीय मनहरु
नउडाउनुहोला फिक्का हाँसोमा
बुझिदिनुहोला एउटा चेलीको
कष्टपूर्ण जिन्दगीलाई
किनकि यो आँसुको सागर हो
म यो आँसुको भवसागरमा पौडिएर
अब बन्न चाहन्छु नवयुगको चरिमाया ।

तपाईको प्रतिक्रिया