सजना गोले तामाङको कविता: प्रिय मान्छे

  अस्मिता स्मृति प्रकाशित मिति :  945 पटक हेरिएको

तिमी मलाई
जति हेरिरहन्छौ
मलाई अझैं उतिकै
सुन्दर भएको
महसुस गर्न दिन्छौ
भनिन्छ नि !
जति मनको आँखाको
हेराइमा सुन्दरता हुन्छ
उतिकै संसार
सुन्दरमय देखिन्छ
हो ठ्याक्कै यहीँनेर
ठोक्किएको छ तिम्रो हेराइ
अनि मेरो सुन्दरता
यसरी नै हेरिरहनु,
देखिरहनु सँधै तिमी
जुन तिम्रो प्रेमिल
आँखाहरुमा
यो हेराइ भन्दा पर
अर्को कुनै हेराइ नहोस्
उफ!!
यो जिन्दगी नि
कति हतारो, कति चटारो
पटक पटकको प्रयास जारी पछि
बल्ल तिमीलाई नजिकबाट
देख्ने अवसर पाउँछु
मेरा यी कोलम हातहरु
मायाले स्पर्श गर्ने
अलिकति समय मिलाउछु
तिम्रो आँखामा आँखा
जुदाइ रहने साहस गर्छु
तर खै यो समयले
हामीलाई एकै छिन
सँगै हुन दिदैन ।
आखिर यस्तो किन! हुँदोरहेछ
चोखो प्रेम गर्नेहरुका निम्ति
मन, मुटु एउटै हुनेहरुको लागि
न बिपनामा भेट्न दिन्छ
न सपनामै भेटे नि
तिमीसँग दिल खुलेर
एकैछिन बात गर्न नै दिन्छ
यो कस्तो नियती, यो कस्तो प्रेम !
तर प्रिय !
म भन्छु यो समय भन्दा नि
कयौं माइल गुना माथि उठेको छ
हाम्रो प्रेमको त्याग, बलिदानी
त्यसैले हाम्रो प्रेमलाई अनि
हामीलाई अनगिन्ती घुमिरहने
कुनै पनि समयका चक्रहरुले
रोक्न सक्ने छैन
कुनै पहाडहरुले
छेक्न सक्ने छैन
उडाउने छैन
कुनै आँधीहरुले
हामी कसैको
बिना पर्बाह नगरी
जुनसुकै समय
अनि परिस्थितिमा
निर्धक्क मन, मुटुका
प्रेमिल बातहरु
गरिरहन सक्छौं
सुनाइ रहन सक्छौं
हिंडिरहन सक्छौं
जसरी यी समयहरुले
हामीलाई हिडाइ रहेका छन्
घुमाइरहेका छन्
हामी यी सबैलाई जितेर
एउटा प्रेमको गहिराईमा
यसरी डुबि सके कि !!
जहाँबाट
हाम्रो प्रेमको गहिराइ
भन्दा अर्को कुनै
समुन्द्रको गहिराई नहोस्
त्यहाँका निर्जिव तर
चम्किला शालिग्राम जस्तै ढुङ्गाहरुले
हाम्रो प्रेमलाई अनुभुत गर्न पाइयोस्
अनि जीवन भर पानीमै जलाइ
जीवन जिउने हर प्राणीहरुलाई
पानी बेगर आफ्नो प्राण
जोगाउन नसक्नेहरुलाई
बाहिरी संसार नदेख्ने साना, ठूला
सबै समुन्द्री जिवहरुलाई
हाम्रो प्रेम देखेर
एकै छिन भएनी
यो समुन्द्री गाहिराइको
मोह भंग होस्
उनीहरु पनि पानी बिना नै
खुल्ला बाँच्न सकोस्, रम्न सकोस्
हो प्रिय त्यतिखेर,
जहाँ !!
हामी दुईको प्रेमको प्रतिबिम्ब
आकाश धर्तीले मात्रै देख्न सकोस्
हाम्रो प्रेम कहानी
जून ताराले मात्रै लेख्न ,पढ्न सकोस्
हाम्रो यो प्रेमिल दस्तावेजहरु
आगो र पानीले मात्रै छुन सकोस्
बुद्धको जस्तै शान्त मनहरुले मात्रै
हाम्रो प्रेमको मोक्ष प्राप्ती गर्न सकोस्
सुन्दर गुलाफहरुले
मात्रै चुम्न सकोस्
हाम्रो प्रेमिल जोडी देखेर
दुनियाँ सबै छ्क्क परोस् ।

तपाईको प्रतिक्रिया