श्याम लामा योञ्जनको कविता: तस्वीरको कहानी

प्रकाशित मिति :  1431 पटक हेरिएको

यो उनैको वालबाट मेटिएको तस्वीर हो
तर
आज मेरो सवालबाट भेटिएको तस्वीर हो !

गमक्क परेर बसेको छ – गणेश जस्तो
उसको अनुहार छ – हिमाली प्रदेश जस्तो
छेवैको सुन्दरी रहेछ विशेष जस्तो ।

मन्द मुस्कुराउदै
हेरिरहेको छ उनैलाई- एक टकले
मन भित्रको मनबाट
जसरी हेर्छ माछापुच्छ्रेलाई – पर्यटकले
फेवातालको आँगनबाट !

मख्ख देखिन्छ – मखमली पछ्यौरी जस्तो
एउटै मायालुबाट माया र ममता दुवै पाए जस्तो
त्यो चेहरामा उत्साह र उमंग
चम्किरहेको झैं लाग्छ इन्द्रेणीको सातै रङ्ग ।

हृस्टपुष्ट शरीर – बलिया बाङ्गा हात खुट्टा
आर्मीको जवान जस्तो
पारदर्शी चस्माले कती सुहाएको
सेतो गुम्बा जस्तो -उज्यालो अनुहार
कुनै युगको महान विद्वान जस्तो !
ठ्याक्कै मेरै जस्तो अनुहारको यो मान्छे
दुरुस्तै मै जस्तो छ – लजालु मुस्कानले भरेको
तर छेवैमा बसेको सुन्दरी मेरी आमा होईनन् !
यो मेरो बाको एल्बममा लुकेको तस्वीर हो
तस्वीरको पछाडी लेखिएको थियो
“यो उनैको वालबाट मेटिएको तस्वीर हो “ !!!

तपाईको प्रतिक्रिया