चेतन खतिवडाको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  508 पटक हेरिएको

व्यक्ति भन्दा हुलले, घोच्दा धेरै दुख्छ
छुरा भन्दा त्रिशुलले, घोच्दा धेरै दुख्छ

शहर र गाउँको कति फरक छ परिवेश
आग्लो भन्दा चुकुलले , घोच्दा धेरै दुख्छ

जहाँ हुर्क्यो,जहाँ खेल्यो, त्यहि बिरानो भो
पलङ भन्दा सुकुलले, घोच्दा धेरै दुख्छ

शाखा सुकेर केही हुन्न , मुल छ भनियो
हाँगा भन्दा मुलले , घोच्दा धेरै दुख्छ

कसको बिश्वास गर्ने अब यो समाजमा
पराइ भन्दा कुलले, घोच्दा धेरै दुख्छ

घोच्नेले घोच्दा दुख्छ भन्ने थाहा छ तर
काँडा भन्दा फूलले , घोच्दा धेरै दुख्छ

लेखक: चेतन खतिवडा
लालबन्दी -५ सर्लाही
हाल- महालक्ष्मी -५ टिकाथली ललितपुर

तपाईको प्रतिक्रिया