सुदेश सत्यालको कविता: गाह्रो छ मान्छे हुन

  अस्मिता स्मृति प्रकाशित मिति :  2537 पटक हेरिएको

जान्ने अर्जुन हो भनीकन सधैँ गीता पढाएपछि
सुब्बा बन्दछ एकलव्य कसरी औँला चढाएपछि
द्रोणाचार्य पढाउदै छ महँगो पैसा लिई ट्यूसन
सक्छौ मास्टर बन्न डस्टरहरू गाह्रो छ मान्छे हुन ।।

जन्मेदेखि सधैँ टुडाल जसरी पायो र कस्ले जुनी
ती ठूला दरबार नै लुकिरहे छोटा लुगाको मुनि
सत्यासत्य नछुट्टिने भइसक्यो हे खोपडी हो सुन
मान्छे भैकन जन्मिए पनि यहाँ गाह्रो छ मान्छे हुन ।।

धब्बाको गहना भिरीकन सधैँ चम्के असत्तीहरू
थाके दानव यी जलाइरहँदा ती दागबत्तीहरू
गर्छन् कोसिस विश्वचर्चित कुनै आदर्शलाई छुन
गान्धी, रावण ,राम जे बन तिमी गाह्रो छ मान्छे हुन ।।

थोत्रा प्लास्टिकका अमूल्य रचना पर्छन् थलाका थला
सिक्दै छन् कविवाट सज्जनहरू चोरेर लेख्ने कला
अड्कन्थे जब दाल,भात,डुकुमा ती देवकोटा सुन
यो भन्दा कवि बन्न हो कि सजिलो गाह्रो छ मान्छे हुन ।।
सोझाको दिनरात वर्णन गरे टेडाहरूले किन
हामी बौद्धिक वर्ग हाैँ भनिरहे भेडाहरूले किन
तिम्रा वादहरू सबै मरिसके सिद्धान्तठेली सुन
भो पाण्डित्य नछाँट पुस्तकहरू गाह्रो छ मान्छे हुन ।।

आफू जन्मिनुको रहस्य कहिल्यै पत्तो नपाएपछि
केही तत्त्व खुले चिहान नजिकै रातै बिताएपछि
सच्चा चालक खै खुदा कि भगवान् ,विज्ञान ,येसू कुन
द्यौता बन्न उपाय छन् सयथरी गाह्रो छ मान्छे हुन ।।

तपाईको प्रतिक्रिया