साँचो आक्रमण-डमी रिहर्सल, किराँतीछाप रेड: डम्बर थामी ‘अनुपम’

  डम्बर थामी ‘अनुपम’ प्रकाशित मिति :  1982 पटक हेरिएको

यतिखेर जिन्दगीका विगतका केही पाटो जनक्रान्तिको कष्टपूर्ण बाटो र नेपाली माटोको केही कुराहरू गर्दैछु जो हृदयको कुना-कुनामा अल्झिएर-बल्झिएर बसेकाछन् अमीट याद बनेर लिपिएका छन् र रातमा अग्राख पलाए झैं छिपिएकाछन् । यी कुराहरू नगरौं भन्दा भन्दै पनि मनले मान्दैन । एउटा यस्तो समय आउने रहेछ । यी इतिहासका गर्भहरूलाई नकेलाउने र नछुट्याउने हो भने चरम अवसरवादले फणा फिजाउने रहेछ । मोर्चामा जाँदा भेरी लाईटको उज्यालोमा तर्सनेहरू, रुखको छाया देख्दा सुईंकुच्चा ठोक्नेहरू अहिले आएर एक नम्बरका क्रान्तिकारी बनेर निस्कने रहेछन् । त्यही भएर बहादुरीता र इमानदारीताको उजागर गर्नै पर्ने बाध्यता हुने रहेछ । धेरै क्रान्तिकारी रहेछ भन्नुहोला धेरै बहादुर रहेछ भन्नुहोला । मसँग पनि केही सीमा र कमजोरीहरू होलान् केही असहमतिहरू होलान् शतप्रतिशत परिणाम निकाल्ने कोही पनि हुँदैनन् । संसारमा गल्ती नगर्ने इश्वर मात्र हुन् भन्ने सुनेको छु तर आफ्नो वर्गप्रति कहिल्यै पनि विश्वासघात गरिएन भन्ने लाग्छ । त्यो सहयोद्धाहरूले औंल्याउने पाटो हो । आम पार्टी काडर र आम जनसमुदायले पर्गेल्ने पाटो हो तर क्रान्तिले एक ढंगको विश्राम लिएपछि फेरि क्रान्तिको आशा जगाउने मक्सद पूरा गर्नुपर्ने अवस्था आउँदोरहेछ । अब फेरि पनि भिन्न ढंगको क्रान्ति भयो भने पनि शिक्षा मिलोस् भनेर इतिहासका केही पाटापक्षहरू केलाउँदैछु । क्रान्तिकारी जीवनमा दर्जनौं मोर्चाहरूमा भाग लिएको हुँदा लडाईंकै कुरा गर्दैछु तर यो मोर्चा नितान्तै भिन्न खालको छ जुन भिन्न चरित्रको छ र हाँसो उठ्दो जस्तो पनि ।
पूर्वी कमान्डको फौजी कार्वाहीको कुरा गर्नुपर्दा दोलखा जिल्लाको मेलुङ मोर्चादेखि फौजी कार्वाही रोकिएको अवस्था थियो । त्यो समयको अन्तरालमा पार्टीभित्र केही गम्भीर सैद्धान्तिक र साँस्कृतिक दरारहरू पैदा भए । (यो विषयमा छुट्टै शिर्षकमा सबिस्तार ब्याख्या गरौला) । इतिहासका यी तीता भोगाइहरू हुन् । (मेलुङ मोर्चाको पनि आउँदा दिनहरूमा अबस्य चर्चा गर्नेछु । यो मोर्चा पनि एक ढंगको छुट्टै प्रवृतिले काम गरेको मोर्चा थियो जसले बारम्बार मुटु धड्काइरहन्छ र नेतृत्वको दूरदर्शिताको अभाव खड्काइरहन्छ) मेलुङ मोर्चादेखि रोकिएको फौजी कार्वाहीको ढोका, फौजी कार्वाहीको पहिलो फायर करिब पाँच महिनापछि सोलुखुम्बु जिल्लाको जूनेवेंशी मोर्चाले खोलेको थियो । (जूनीबेंशी मोर्चाको पनि आउँदा दिनहरूमा अनुभव साटासाट गरौंला । यो मोर्चाले अलि अलग पहिचान बनाएको थियो । छापामार कार्वाहीको निरन्तरताको सन्देश दिएको थियो र जनमुक्ति सेनाको फौजी श्रेष्ठतामा एउटा ईंटा थपेको थियो) भर्खरै जूनीबेँशी मोर्चा सफल भएको उमंग बोकेर हाम्रो एस. टि. एफ. को टोली दोलखा प्रवेश गरेको थियो । जूनीबेँशी मोर्चाको समीक्षापछि एस.टि.एफ. ले नयाँ-नयाँ मोर्चाहरू लगातार खोल्दै जाने निष्कर्ष निकाल्यो । त्यसैले हाम्रो कमान्डर टोलीहरू रेक्कीको काममा लाग्यो । त्यतिबेला हामीले दुई-चार वटा पुलिस चौकीहरूको रेक्की सक्यौं । दोलखाकै छौंडे प्रहरी चौकी उठाउने योजना थियो तर उनीहरू रातीको समयमा चौकी छोडेर अन्यत्र बस्ने गरेकोले सम्भव भएन । एस. टि. एफ. को हेड्क्वार्टर र दोलखा जिल्ला पार्टी बीच आबश्यक छलफल भएपछि दोलखाको किराँतीछाप चौकी रेड गर्ने निष्कर्ष भयो । जनमुक्ति सेनाको निशानामा किराँतीछाप चौकी पर्यो र मोर्चाको लागि आवश्यक फौजी र प्राविधिक तयारीहरू तीव्र गतिमा गरियो । म्याप ब्रीफिङ र एसाल्ट कोचिङ्हरू सकियो । सबै एसाल्टहरूको आर्क तोक्ने काम पनि सकियो । त्यतिबेला भर्खर-भर्खर टि.एन.टि. ट्याम्पिङ माइनको आविष्कार भएको थियो । (यो माइन यति संवेदनशील रहेछ कि अलि चर्को घाम लाग्दा पनि आफैं विष्फोट हुने रहेछ । पछि थुप्रै आन्तरिक दुर्घटनाहरू हुँदा पो थाहा भयो । हामीले त जि.आई. पाईपभित्र टिएनटी कोचेर माथिबाट घनले हानेर माइन बनाउँथ्यौं । ग्रिनेडहरू पनि यस्तै तरिकाले बनाउँथ्यौं । कालिदास भन्दा पनि मूर्ख पछि भोग्दै जाँदा कालिदास महाकवि बनें झैं हामी पनि दक्ष प्राविधिक बन्यौं ।

सदरमुकाम चरिकोट नजिकै रहेकोे यो चौकी रेड गर्न अलि चुनौती नै थियो । एउटा मोर्चाको तयारी गर्दा अरू मोर्चाहरू पनि खोल्नु पर्ने आवश्यकता थियो । त्यसैले स्टप ग्रुपहरूको पनि महत्त्वपूर्ण भूमिका थियो । स्टप ग्रुपलाई एसाल्ट सरह नै हतियार र माइन बिन्यास भयो । हाम्रो अन्तिम सेल्टर साबिक नाम्दु गा.वि.स. को मार्वु । आवश्यक अन्तिम तयारी सकेर २०५७ साल असार १७ गते साँझ एस. टि. एफ. कमिशार क. सन्तोष, कमान्डर क. परवाना, सहकमान्डर क. सन्जिव औधी उर्जावान कमान्डिङ टोली थियो । त्यो सँगै जिल्ला सेक्रेटरी पूर्वको चम्किलो तारा क. प्रताप पनि ठूलो जोस, जाँगरकासाथ लागेका थिए । (क. प्रताप माओवादी पार्टीभित्रका सैन्य राजनीतिक क्षमता राख्ने विशाल प्रतिभाका धनी थिए । उनको पनि पार्टी केन्द्रको मिटिङ सकेर फर्कने क्रममा रौतहटमा शहादत भयो । उनको बारेमा धेरै ठाउँमा चर्चा-परिचर्चा भईसकेको छ । आउँदा दिनहरूमा थप चर्चा गर्नेछु । वहाँको जति चर्चा गरे पनि कम हुन्छ) कमान्डिङ टोलीको अन्तिम निर्देशन जारी भयो । त्यसपछि हाम्रो टोली पूरानो बुस्ती, जिलु फसीभैं हुँदै किराँतीछापतिर लाग्यो । चूक घोप्ट्याए जस्तो झमझम पानी परिरहेको अँध्यारी रातमा घस्रंदै-घस्रंदै हिंड्यौं । घस्रंदै जाँदा क. धर्मेन्द्र भीरबाट लडे । (क. धर्मेन्द्रको पनि मैनापोखरी मोर्चामा शहादत भईसकेको छ) चूक घोप्ट्याएजस्तो अँध्यारी रातमा उनलाई खोज्दै जाँदा एउटा खोंचमा भेटियो । धन्न उनी त्यतिबेला घाइते मात्र भएका रहेछन् । उनलाई जिल्ला पार्टीको साथीहरूलाई जिम्मा लगाएर हामी अघि बढ्यौं ।
अन्तिम आर.भि. पोईन्टमा कमिशार कमान्डरको मोर्चाको अन्तिम उर्जाशील निर्देशन जारी भयो । त्यसपछि एसाल्ट ग्रुपहरू आ-आफ्नो आर्कबाट अघि बढे । म जहिल्यै पनि एसाल्ट नं १ मा पर्थें । त्यो मोर्चामा पनि सहकमान्डर क. सन्जीवको एसाल्टमा परें । (क. सन्जीव पूर्वका शालिन र जोदाहा कमान्डर हुन् । लडाइँमा जाँदा उनको एसाल्टमा परियो भने धेरै ढुक्कता पैदा हुन्थ्यो, लडौं लडौं लाग्थ्यो । आफूलाई एसाल्ट कमान्डको जिम्मा नआएसम्म धेरै मोर्चाहरू उनकै कमान्डमा लडियो) यसरी सबै एसाल्टहरू आ-आफ्नो आर्कबाट अघि बढेपछि रातको एघार बजे फायर ओपन भयो । फायर ओपन भएपछि भीषण गोलाबारी शुरु भयो । सबै एसाल्टहरू आ-आफ्नो आर्कबाट फायरिङ गर्दै चौकी नजिक पुगे । (त्यतिबेला पूर्वको फौजी हमलाको विशेषता के थियो भने पहिलो फायर हुने बित्तिकै दुश्मनको क्याम्पको भित्तामा पुगिहाल्ने चाहे बाँचोस् या मरोस्) हामी पनि फायरिङ गर्दै अगाडि बढ्यौं र चौकीको भित्तामा पुग्यौं । तर चौकी भित्रबाट केही प्रतिक्रिया आएन । हामी निकै असमजसमा पर्यौं । पहिला त फायर भए जस्तै लागेको थियो तर होइन रहेछ । हाम्रै बिपरित दिशाबाट आक्रमण गर्ने एसाल्टको फायर रहेछ । क. जितेन्द्रले माइन विष्फोट गरेर चौकीको भित्ता प्वाल पारेर भित्र पस्दा पुलिसहरू कोही पनि नभएको जानकारी दिए । (क. जितेन्द्र पनि एक होनहार जोदाहा योद्धा हुन् । थामी समुदायका एक नक्षत्र हुन् । जस्तोसुकै परिवेशमा पनि लड्न र लडाउन सक्ने कमान्डर हुन् । उनको पनि मैनापोखरी मोर्चामा शहादत भईसकेको छ) क. जितेन्द्रले पुलिसहरू कोही पनि नभएको जानकारी दिएपछि पूरै चौकी सर्च गर्दा केवल हेलमेट, पुलिसको ड्रेस र केही थान संगीनहरू मात्रै फेला पर्यो । सबै कोठाहरू खाली थिए । हामी दंगदास पर्यौं । कमान्डरहरू पनि मुखामुख गरे । एक ढंगले हाँसो पनि उठ्यो । अनि सबै एसाल्ट ग्रुपहरूमा खैलाबैला भयो । के गर्नु त ? पुलिस नै नभएपछि । दुश्मन नै नभएपछि कोसँग लड्ने ? त्यसपछि सबै टोलीहरू रिट्रीट हुने आदेश आयो र हामी अमिलो मन बनाएर मोर्चाबाट फर्क्यौं ।
मोर्चाबाट फर्केपछि हामी चरंगे खोला तरेर फस्कुको उकालो लाग्यौं । जनताहरू कम खुशी भएका थिएनन् । किराँतीछाप चौकी हानेर आए भनेर किनकि त्यो चौकीका पुलिसहरूले त्यहाँका जनतालाई खूब दु:ख दिएका रहेछन् । यसरी जनतासँग घुलमिल हुँदै हामी अर्को मोर्चाको तयारीमा लाग्यौं ।
पुनश्च: यो मोर्चाको समीक्षा गर्दा हाम्रो अन्तिम रेक्की स्पष्ट नभएको निष्कर्ष निस्क्यो किनकि हामी आक्रमण गर्न जानुभन्दा २० मिनेट अगाडि पुलिसले चौकी छोडेर माथि डाँडामा मकैबारीभित्र बसेर रमिता हेरेछन् । त्यही भएर यो मोर्चा हाँसो उठ्दो छ तर यो मोर्चाको शिक्षा के थियो भने अन्तिम रेक्की पक्का गर्नुपर्ने र साँचो आक्रमण भए पनि डमी रिहर्सल सफल भयो भन्ने रह्यो ।

तपाईको प्रतिक्रिया