रचना मोक्तान “यात्री” को कविता: “क्वारेन्टाइन “

  अस्मिता स्मृति प्रकाशित मिति :  1101 पटक हेरिएको

अभिशप्त समयको
कहालीलाग्दो भित्तामा टाँसिएर
निधारमा हात राख्दै
अर्धमुर्छित अवस्थामा छट्पटाउँदै
नियालीरहेछु म मेरै छाती भित्रको देश

नियालीरहेछु गणतन्त्रका नयाँ श्रीपेचहरूलाई
एकोहोरो शंख बोकेर घुमिरहेछ महामारी
जीवन र मृत्युको दोबाटोमा उभिएको बेला
चामलको बोराभित्र उफ्रिरहेछन् बिषालु सर्पहरु
चिच्याइरहेछन् टुहुरा कोराढिकुराहरु
रगत छादिरहेछन् बलात्कृत कलिला अङ्गहरु
सिकिस्त बिरामी सुतेको अस्पताल
यसलाई म क्वारेन्टाइन भनौ या
यमराजको बधशालामा बिताइएको रात भनौ

पेटभित्र आत्महत्या गरेर मरेका भोकहरुको
कठोर प्रेतात्माहरु चिच्याएको देखेर
छादिरहेको छ आगाका डरलाग्दा लप्काहरु
सरकार दाउ थापिरहेछ संबिधानको जुवाघरमा
पाण्डित्य छाटिरहेछ तुलसाको मठ नजिक लमतन्न परेर

आमाको अनुहार अन्तिम हेरेर मर्ने
इच्छा भएको देशद्रोही जस्तो सिमानामा अलपत्र परेर
अलपत्र जमिरहेछन् नेपाल आमाका ताता ताता खुनहरु
एक मुटु देश हजारौ धड्कन पीडा बोकेका परदेशी छोराहरु
आधा मृत जिन्दगी अरवको घाममा डढाएर
फिजाउछन् सपनाका पखेटाहरु
यी ठेला उठेका हातहरुमा
पैसा भन्ने टिलो नअडिदा
यी ढुडी परेका खाली खोजीमा
अभिलाषाका ताता बाफहरु बरफ जस्तो चिसिएपछि
कठै बरफ हुन विवश छन् तन्नेरी पहाडहरु

त्यसैले,
अब गाउँ गाउँबाट, बस्ती बस्तीबाट
युगको गर्जन लिएर
मुट्ठी उठाएर
उठाइरहनुपर्छ न्यायको आवाज
बालीरहनुपर्छ बिद्रोहको मशाल

तर सोच्नोस् महोदय
सिटाबाट आगो उठ्यो भने अग्राख पनि खरानी हुनेछ
यो यमराजको क्वारेन्टाइनबाट बिद्रोहको आगो उठ्यो भने
डर लाग्छ के होला हजुरको बिरासत
कसरी निभ्ला राजधानीको डढेलो

बिन्ती छ
आज राज्य ब्यवस्था बोकेर हिडेको सेतो कार
भोलि आर्यघाट किनारा तिर
शवबाहन बनेर कुदिरहेको देख्न नपरोस्

तपाईको प्रतिक्रिया