रोल्पामा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  283 पटक हेरिएको

१९ असार, काठमाडौं । रोल्पामा बुधबार आत्महत्या गरेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मानबहादुर डाँगीले अनलाइनखबरलाई जानकारी दिए ।

मृत्युपछि उनको स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

संक्रमण पुष्टि भएका युवकको शव पोष्टमार्टम गर्ने क्रममा राप्ती प्रादेशिक अस्पतालको शव गृहमै रहेका कारण शवको व्यवस्थापन दाङमै गर्नका लागि समन्वय भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

‘संक्रमितको शव व्यवस्थापनका लागि दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहित जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग समन्वय भइरहेको छ,’ प्रजिअ रानाले भने, ‘नेपाली सेनाको टोलीले शवको व्यवस्थापन दाङमै गर्ने कुरा छ ।’

तपाईको प्रतिक्रिया