इन्दिरा प्रसाईको लघुकथा: सपना थियो र ?

  अस्मिता स्मृति प्रकाशित मिति :  714 पटक हेरिएको

‘आहा ! कस्तो राम्रो !’ रग्गाउँदै उसका नजिक आइपुगेको सेतो किरो छोएर उसकी स्वास्नी खुसीले चिच्याएकी थिई । त्यो सेतो किरो हेर्दा विछट्टै सुन्दर त थियो नै ।
तर किन हो कुन्नि, त्यस किरो छुने बित्तिकै स्वास्नी भड्किन थाली । किनभने किरोले पैसा, जागीर, ओखती पनि बाँढ्दो रहेछ । अभाव र गरिबीमा लडिरहेका हामीमाझ त्यसरी मनचिन्ते किरो भेटेपछि नै उसको मनस्थिति बदलिएको हुनुपर्छ ।

•’तिम्रा देउताको काम छैन । सबै पापी छन्, अपराधी छन, अश्लिल र अन्यायी पनि छन् । म अबदेखि त्यस्ता देउताको पूजा गर्दिन ।’
•’मैले मात्रै खान्छु र तिम्रा भान्सामा भात, ममात्रै पकाउन सक्तिन । खाए खाओ नखाए नखाओ ।’
•’यी छोराछोरी पनि मेरा मात्र हुन् र ? म यिनको हेरविचार गर्न सक्तिन ।’
•’लोग्ने न सोग्ने ! ठेगानमा बस नत्र अदालतमा जोतिनु पर्ला, के को सासू कताको ससुरा, मेरा पनि छन् बाउआमा, तिम्रा आफ्ना आफैँ सम्हाल ।’

घरमा दिनरातको कचिंगल शुरु भयो ।
घर, गाउँ, समाज जताततै त्यही सेतो किरै किरो फैलिएको रहेछ । त्यसैले जताततै यस्तै महामारी फैलाई दिएको रहेछ ।

हुन पनि जताततै आइमाईको जुलुश थियो ।त्यस जुलुशको अग्रभागमा र पाश्वभागमा छद्मभेशमा त्यही सेतो किरो थियो ।

त्यस किरोले गर्नु नगर्नु गरेकै थियो । गृहलक्ष्मी मानिएकी उसकी स्वास्नी नै भाँडिएपछि उसको घर मियो विनाको दाईँ भएको थियो ।

देख्दा देख्दै सानो भनेर नपत्याएका ती साना किरा त बढेमाका राक्षश पो बनेछन्।

‘घरभित्रकी आइमाई भाँडिदिनु पर्छ त्यसपछि त सर्वविजय !’
सेतो किरोको लक्ष्य रहेछ ।

त्यसपछि ती राक्षशहरूले उसको घरमात्र होइन क्रमश: देशै मुखभित्र हालिसकेछन् । देश चपाउने तरखरमा राक्षशको बङ्गाराले कच्याक्क …

‘ऐया…’ ऊ बिउँझिएको थियो । आधारातमा झस्किएर बिछ्यौनाको वायाँपट्टि छाम्यो । स्वास्नी सँगै सुतेकै थिई । ढुक्क मान्यो ।
अन्धकारमा कोठाको चारैभित्तामा हेरेर सुरक्षा महसुस गर्दै आफैँले आफूसँग सासले सोध्यो,
‘सपना थियो र ?’
•••

तपाईको प्रतिक्रिया