इन्दिरा प्रसाईको लघुकथा: “दण्ड सभा”

  अस्मिता स्मृति प्रकाशित मिति :  802 पटक हेरिएको

‘यति राति कता जान लागेकी छोरी ? छोरी मान्छे भएर यसरी राति राति हिँड्नु निको छैन, जमाना पनि ठीक छैन । दैनिकजसो छोरीवेटीका विषयमा नराम्रो बाहेक अर्को समाचार केही सुनिँदैन् । तँ भने यसरी रातविरात ढुक्कै हिँड्छेस् ! तेरो यस्तो चर्तिकलाले म त हैरानै भई सकेँ ।
अब त तेरो क्रान्ति पनि सफल भइसक्यो त । तँ जे भन्, तँलाई म यसरी बेला कुबेला हिँड्न दिन्न !’
रातको दोस्रो प्रहरमा घरबाट निस्किन लागेकी छोरीको चिन्तामा व्यथित हुँदै उसको बाटो छेकेर मैले भनेकी थिएँ ।

‘मम्मी ! मैले कति पटक भनिसकेँ मलाई छोरी भनेर कमजोरीको कवच नलगाइदिनुस् न। तपाईँले विर्सिनु भयो कि क्या हो ? म करातेकी ब्ल्याक बेल्ट हुँ भनेर । एकपटकमा दसजनासम्म लफङ्गालाई त मैले एक्लैले अस्पतालमा भर्ना गराइदिएकी छु ।
मम्मी, आमाहरूले युग अनुसार छोरीहरूलाई शस्त्रले सुसज्जत गरिदिनु पर्छ र छोरीहरूलाई आफ्नो युद्ध आफैँ लड्न मैदानमा पठाउनु पर्छ । शारीरिक युक्ति युक्त बल र मातापिताबाट पाइने मनोबलपछिमात्र छोरीहरू यस समाजका लफङ्गाहरूबाट सुरक्षित हुनेछन् ।
मम्मी, अनि तपाईंले क्रान्ति सकिएको छ भन्नू भयो ! कुरा त ठीक हो, तर नि मम्मी, क्रान्ति भनेको तयारी चाउचाउ होइन कि पोका खोल्यो तातो पानीमा डुबायो खायो । तपाईँको पालाको क्रान्तिलाई त्यस्तै बनाइयो पनि । पुरानासँगको युद्ध जित्नुमात्र क्रान्ति होइन । नयाँलाई बलियोसँग स्थापित गर्नु झन् महान क्रान्ति हो । त्यसैले हाम्रो क्रान्तिको वास्तविक काम अब बल्ल राम्रोसँग शुरु भएको छ । यस बेला हामीले हाम्रो देशलाई दुर्दशाको यस अवस्थामा पुर्याउनेहरू खोजी खोजी दण्ड दिनु छ । भोलि दण्ड सभा छ। अन्तिम नामावली आज राति टुङ्गो हुँदैछ । कुनै पनि भ्रष्ट छुट्ने छैन । जोसुकै होस् !’
छोरीको जोश उपल्लोस्तरमा पुगेको थियो ।
‘कुनै पनि भ्रष्ट भन्नुको अर्थ के त्यस नामावलीमा तिम्रो बाबा, काका र मामाहरूको नाम पनि छ छोरी ?’ मैले आत्तिएर उसलाई सोधेकी थिएँ ।

‘कोही बाँकी रहँदैनन् मम्मी भ्रष्ट भनेका नातेदार होइनन् ती भ्रष्ट मात्र हुन् । हाम्रो राष्ट्र चुस्नेसँग हामी कसैले पनि नाता नगाँस्ने प्रण गरेका छौँ । विगतमा यही नाता गोता जोगाउँदा नै राष्ट्रको यो अधोगति भएको कुरा हामीले नबिर्सिने शिक्षाका रुपमा घोकेका छौँ र यसलाई घोक्नेमात्र होइन व्यवहारमा तुरुन्तै लागू गर्दै छौँ । त्यसैले मलाई विलम्व नगराउनु होस् मम्मी । आजको रात हाम्रो राष्ट्रको उज्यालो भविष्यको रेखा हामीले नमेटिने गरी कोर्नु छ ।’
उसका कुरा सुनेर मलाई भाउन्न होलाजस्तो भयो । भोलि टुँडिखेलमा झुण्ड्याइने अपराधीहरूमा आफ्नै पति, देवर, दाजु, भाइ, मामा र काकाका छोराहरू हुनेछन् । सबैका सबै नै अलल्य सम्पत्ति कमाउनेहरूको दृष्यचित्र आँखामा आएपछि म धुमधामै आत्तिएँ ।

मेरो मुटुमा ठूलै भूइँचालो हल्लाएर ऊ भने आफ्नो लक्ष्यतर्फ लागी ।
•••

तपाईको प्रतिक्रिया