यज्ञराज उपाध्यायको कविता: दुर्गति ( छन्द – शार्दूलविक्रीडित )

  अस्मिता स्मृति प्रकाशित मिति :  848 पटक हेरिएको

नाच्नेलाइ नचाउने गरिरह्याे दक्षिणका बीनले ।
तै थै थै गरि नाँचने नरतकी चिन्दै गयाे चीनले ।।
झुल्क्याे बीन बजाउने रहरमा आफै सपेरा बनी ।
कुर्सी थाम्न प्रयत्नमा अहिलेता उत्तर् छिमेकी पनि ।।

पाई आशिष पाँच वर्ष भरिकाे श्रीतीन जङ्गे बने ।
काेराेनासित बच्न जङ्गविरले बेसार खाऊ भने ।।
हाम्राे रत्न पवित्र देवभुमिमा चाहिन्न भन्छन् गुठी ।
छाराे हाल्न सिपालुछन् नयनमा हाल्छन् मुठीका मुठी ।।

पूरै देश सबै पहेल्पुर भयाे रङ्गीन बेसारले ।
सारै दिक्क भए कराेड् मनहरू कङ्काल हुङ्कारले ।।
भाैतिक् वादि पुरातनादिहरुमा के नै भयाे अन्तर ?
काेभिड्लाइ भगाउने प्रगतिशील् झुन्ड्याएछन् जन्तर ।।

आफू दृढ भएर एक् हुनसके के गर्छ कुन् शक्तिले ।
राष्ट्र राष्ट्रियता हुँदैन बलियाे सस्ताे अभीव्यक्तिले ।।
लीनू पर्छ लडेर निर्भिक भई आफ्नाे गुमेकाे जति ।
अर्काकाे हितमा डटेर सरिता जानेभईछन् सती ।।

आफ्नै स्वार्थ र लाेभ माेह पदकाे आफ्नै चिताई भलाे ।
चाँडै बन्द भएछ काम नसकी नाच्ने रत्याैली थलाे ।।
कुर्सी आसिनकाे अधाेगति भयाे सुध्रन्छ कैले मति ?
कैले हुन्छ कसाेरी उन्नत मुलुक् यस्तै रहे दुर्गति ?

तपाईको प्रतिक्रिया