तुलसीपुर उपमहानगरपालिका ‘क्यासलेस’ नगरको रूपमा घोषणा

  अस्मिता स्मृति प्रकाशित मिति :  495 पटक हेरिएको

२ साउन, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका साउन १ गतेदेखि ‘क्यासलेस’ नगरको रूपमा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिकालाई नगदविहीन अर्थात् क्यासलेस बनाइएको हो । स्मार्ट नगरको परिकल्पना गरिदै आएको तुलसीपुरलाई त्यहि अन्तर्गत गएर क्यासलेस बनाइएको उपमहानगरका प्रमुख घनश्याम पाण्डेले बताए । उनले यो कार्य नगरका लागि अवसर र चुनौती दुबै रहेको बताए ।

उपमहानगरपालिकाका तिर्नुपर्ने पैसा सेवाग्राहीहरूले अनिवार्यरूपमा बैंकमा जम्मा गर्नुपर्नेछ । आर्थिक सुशासनका साथै बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउनका लागि उपमहानगरपालिकामा बैंकको काउन्टर स्थापना गरी क्यासलेस बनाइएको हो ।

काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिएर मेगा बैंकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए । गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बैंकसँगको प्रक्रियामा भएको ढिलाइका कारण यो वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको बैंकको म्यानेजर राजन भण्डारीले जानकारी दिए ।

यसैबीच उपमहानगर–पालिकामा काउन्टरको उद्घाटन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले क्यासलेस बनाउने लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे । उनले अनौपचारिक कारोबारलाई रोक्नका लागि बैंकिङ प्रणालीको ठूलो महत्व हुने कुरामा समेत जोड दिएका थिए ।

हरेक नागरिकलाई बैंकिङ प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोबार वृद्धि हुने उनको भनाई थियो । ‘वित्तीय साक्षरता अहिलेको आवश्यकता भएकाले पनि हामीले बैंकिङ प्रणालीमा जोड दिएका हौं’ पाण्डेले भने । आगामी वर्षबाट उपमहानगरपालिकाको हरेक पेमेन्ट अनलाइनबाट गर्ने गरी काम अगाडि बढाएको पनि उनको भनाई छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष विमल रिजालले बैंकिङ प्रणालीले आर्थिक पारदर्शीता ल्याउने बताए । उनले उपमहानगरपालिकाले क्रमवद्ध ढंगले घोषणाहरू पूरा गर्दै गएको समेत जानकारी दिए ।

धेरै मानिस बैंकको पहुँचबाट टाढा रहेको उल्लेख गर्दै तुलसीपुर बैकर्सका अध्यक्ष सरोज लामिछानेले यसले उनीहरूलाई बैंकिङ प्रणालीसँग जोडेर लैजाने बताए । बैंक म्यानेजर राजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगरप्रमुखका प्रेस संयोजक बसन्त आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया