कवि कलानिधि दाहालको कविता: ए,स्वाँगे कवि हो??

  अस्मिता स्मृति प्रकाशित मिति :  1996 पटक हेरिएको

यौटा झम्झम मौसमी प्रहरको उल्लास आँखो छु म
यौटा अन्ध परम्परा विगतको फ्याँक्ने नि आँखो छु म!
थोत्रा गन्थनका सबै नियम यी च्यात्ने नि आँखो छु म
जम्मै दिव्य छटा,छटाभरि छटा संसार आँखो छु म !!

ए,रुञ्चे कवि हो!जुरुक्क उठ ती अन्धा अहङ्कारका
पाना च्यात सबै कि भाग अहिल्यै आएँ म नौला ढिका !
तिम्रा संस्कृतिका धरोहर सबै थन्क्याऊ खल्तीतिर
आयो नव्य र दिव्य संस्कृति सफा बोक्नेछ मेरो शिर !!

मान्छेका मना वाँणले भरिभरी ज्यूँदै मरी बाँच्दछौ
ए,स्वाँगे कवि हो!स्तुती सबलका तेर्साई के बाँच्दछौ?
तिम्रा भाट भतेरका समुहका संस्कारका नाटक
जम्मै फाल्न तयार भै मन बनी आएँ म छु फाटक !!

गन्धा गन्थन छाड छेउ पर भै जोगाउ तिम्रा शिर
यौटा झुण्ड जुरुक्कमा छ र कवि!बन्ने कविको स्वर !
तिम्रा झुण्ड अझै अझै विगलिता के के गरी जोड्दछौ
छन् थाहा सब देखिनेछ सजिलै विस्फोटमा भोग्दछौ !!

लेघ्रो तान्न सिपालु एक छ उता भागी पुगेको पर
मस्तीमा महफीलमा रमणमा अश्रास्रु सम्झी घर !
झारेझैँ गर देश घातकहरू”छु देशप्रेमी”भनी
गाई गीत नबाँध बन्धन यता मच्चाउँदै सन्सनी !!

भाते भीख भलाद्मझै घर थुकी हिड्ने भिखारीहरू
ऐले भक्त बनेर गीत घरका गायौ शिकारीहरू !
हान्दै लात विदेश गै रहरले के आँसु झार्छौ उता
तिम्रा स्वाङ सफेद चाप्लुस घडा छल्की रहेछन् यता !!

च्याँख्ला चाप्लुसका अपाच्य पटका बौलाउने पड्कने
देखे लाज हुने,सुने घिन हुने,बुझ्दा अझै तर्सिने !
उम्लेको जलमा छ शीतल कतै सक्छौ तिमी भन्न र
भेडो भीडभरी छ सङ्गीत भनी सक्छौ कतै गुन्न र ??

चाला चाप्लुसका चलाख घरका भ्या भ्या भयौँ यो भन
भैँसीझैँ लय तान काव्यघरको गर्ने,न हौ मर्दन !
ताला जङ्गलको मिजास महको हुङ्कार आक्रोशको
के हो यो गति छाड छाड कवि हो!उन्माद वेशर्मको !!
छन्द: शार्दूलबिक्रीडित

तपाईको प्रतिक्रिया