आज
म तिमीलाई भन्न चाहन्छु
म कुनै कवि वा लेखक होइन।
यो त मेरो अबोध मन हो
जसले हाम्रा यादहरुलाई कोरिरहन्छ
जसरी एउटा अबोध बालकले
माटोमा चित्र कोर्छ र आफै मख्ख हुन्छ !
तर,
मेरो अबोध मन
किन मख्ख नभएको ?
म किन मख्ख नभएको ?
यो प्रश्न अनुत्तरित नै छ !
मलाई लाग्छ,
म भित्तामा झुण्ड्याइएको घडिको
त्यो टिक – टिक टिक – टिक जस्तै
गुञ्जिरहने एक अदृश्य आवाज मात्रै हो,
जसले
घडीका थरी थरी थरिका काटाहरु जस्तै
अतीतका थरी थरिका तीता,अमिला,खल्ला
यादहरुलाई समेटेर अदृश्य भई कराइरहेको छ !
टिक – टिक
टिक – टिक
टिक – टिक
टिक – टिक…
म त अतीतमा हराएको मान्छे !
त्यो अदृश्य आवाज हुँ पनि त भन्न सक्दिनँ !
किनकी, त्यो आवाजले त
भविष्यलाई मात्र संकेत गरिरहेको हुन्छ !
म को हु ?
यो प्रश्न अनुत्तरित नै छ !
के म कैदी कागज़ हो ?
यदि होइन भने,
किन मैले पीडाहरुलाई मात्र म मा कोर्ने गर्छु ?
तिमीले लगाएको पिरती
मेरो लागि किन पीर – अती भएको छ ?
जसले मलाई
न त नयाँ सोच्न दिन्छ,
न त नयाँ खोज्न दिन्छ,
न त नयाँ रोज्न दिन्छ,
उसले दिन्छ त केवल
पीड़ा मात्र दिन्छ…
पीड़ा रोज्न मात्र दिन्छ..!
जुन मेरो धरातलमा
अक्षर बनेर कोरिन्छन
अनि आँशु बनेर छापिन्छन् !
म कैदी कागज़ नै भए
किन ?
किन मलाई पढ़ने कोशिस नै गरिँदैन ?
म को हो ?
यो प्रश्न अझै अनुत्तरित नै छ !
के म पाठक हो ?
त्यो पाठक जस्ले लोकसेवामा
अब्बल आउने गरी
तिम्रा हरेक अप्ठ्यारा अध्यायहरुका
विशिष्ट प्रेमनीति,
सामाजिक धोकाहरु,
सुखान्त-दुखान्त इतिहास,
अधूरा सम्बन्धका समीकरणहरु कंठस्थ पारेको छ !
यदि,
म पाठक नै हो भने,
तिम्रो प्रेमको परीक्षामा अब्बल आउनु पर्ने होइन र ?
सायद,
प्रेमनीतिमा पनि राजनीति भएर होला
मेरो मन्तरवार्ता कहिल्यै सफल भएन !
मैले तिम्रो मन कहिल्यै पढ़न सकिनँ.
मैले तिमीलाई कहिल्यै बुझ्न सकिनँ..
मैले तिमीलाई कहिल्यै चिन्न सकिनँ…
ए साँच्ची !
म त को हो को हो ?
मैले
तिमीलाई त के,
मैले मलाई नै पढ्न सकिनँ…
मैले मलाई नै बुझ्न सकिनँ..
मैले मलाई नै चिन्न सकिनँ..
म को हो को हो ??
यो प्रश्न अझै अनुत्तरित नै छ……..!