रचना मोक्तान “यात्री” को कविता : “बा”

प्रकाशित मिति :  560 पटक हेरिएको

यतिबेला देख्छु
बत्तीस मुजा परेको
बाको चाउरिएको अनुहार
धर्साहरू परेको निधार
कपास फूलेको टाउको
दाँत फुक्लिसकेर
बाँकी रहेका गिजाहरू
भित्र पसेका आँखाका नानीहरू
हाम्रै निम्ति दिन रात घोटिएर
बाँकी रहेका जवानीहरू

माछाको काँडा जस्तै
करङ देखिने छाती
पेरुंगा जस्तै दबिएको पेट
लरखराएका खुट्टाहरू
बाँउडिएका हातका औंलाहरू
जो आफ्नै सन्तानको
खुशीको लागि
भविष्यको लागि
जोतिँदा-जोतिंदा
घोटिंदा-घोटिंदा
बाँकी रहेका अस्थिपन्जरहरू
डाँडाको घाम-जून जस्तै भएका
अदृश्य भगवान भन्दा ठूलो
साक्षात भगवानका औतारी मेरो बा

जस्तै ठूलो पीडामा पनि
मेरो बाले सेलो गाएर
डम्फू बजाएर नाच्छन्
त्यसैले त उनी बा भएका हुन् ।

रचनाकार : रचना मोक्तान “यात्री”
३ भाद्र २०७७, भक्तपुर !

तपाईको प्रतिक्रिया