अस्मिता के.सी को कविता: बुबा

प्रकाशित मिति :  1204 पटक हेरिएको

बुबा,
त्यस्तो कुनै पल छैन,
जतिबेला हजुरको आवश्यकता महसुस नभएको होस् ।
त्यस्तो कुनै पल छैन,
जतिबेला हजुरको याद नआएको होस् ।

हिजो तपाईंको काधमा बसेर,
कानमा कानिकुर्र …
गर्दै आमालाई हसाएको जस्तो सहज छैन बुबा,
आज पनि आमालाई उसैगरी हसाउन!!
आमा त हाँस्न बिर्सनु भएको छ,
मलाई हसाउन बिर्सनुभएको छ ।

घर घर लाग्दैन बुबा,
तपाईंका यादहरुको संग्राहलय लाग्न थालेको छ ।
आफन्तहरु आउछन-जान्छन,
नजरिया र लवज बदलेका छन् ।

मलाई बिचारा भन्न थालेका छन,
आमालाई अशुभताको प्रतिक मान्न थालेकाछन् !
छानो भत्किए पछि त,
खर लगेर आगो सत्काउने त दुनियाँ हुदो रहेछ ।

म हरेक पल भिज्छु-रुझ्छु बुबा,
झरि त बहाना मात्रै रहेछ !
जसले तन मात्र भिजाउँछ ।

मन भिजाउने त
दु:ख रहेछ,
अभाव रहेछ,
पीडा रहेछ,
अनि परेली भिजाउने आँसु ।

हजुर जुन बनेर मलाई हेरिरहनु,
आमा र म बार्दलीमा बसेर,
तपाईंको प्रतीक्षा गरिरहने छौं ।

तपाईको प्रतिक्रिया